काठमाडौँ –
झापामा रासायनिक मलको अभाव भएको छ । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसानहरु समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव भएको गुनासो गरेका छन् ।धान रोप्दा छर्ने डिएपी मल जिल्लामा अभाव भएको किसानहरुले बताएका छन् ।
रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्नसमेत मल नपाउँदा किसानले बर्सेनि मलको समस्या झेल्नुपरेको झापा कमल ६ का अगुवा किसान ख्याम आचार्यले बताए । यस वर्षसमेत धान रोप्ने समय हुँदा पनि डिएपी मल पाउन नसकेको उनको भनाइ छ ।कमल गाउँपालिकाका लागि १ हजार बोरा डिएपी मल कोटामा छुट्टिएको गाउँपालिका कृषि शाखाले जानकारी दिएको छ ।
शाखा प्रमुख महेन्द्र बोहोराले कृषि सामग्री कम्पनीबाट प्राप्त हुने सो मल विभिन्न सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराइने जानकारी दिए ।सहकारी संस्थाले मागका तुलनामा न्यून परिमाणको मल वितरण गर्न कठिन हुने कमल–६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक टङ्क पराजुलीले बताए । उनले धान रोपाइका बेला उच्च माग हुने डिएपी न्यून परिमाणमा आएका कारण किसानको माग थेग्नसमेत कठिन भएको जानकारी दिएका छन् ।कृषी अनलाइन