‘चिसो मान्छे’ ट्रेलर रिलिज, स्वस्तिमाको मनछुने अभिनय

[sharethis-inline-buttons]

काठमाण्डौँ-
‘पशुपति प्रसाद’, ‘आमा’ जस्ता उत्कृष्ट फिल्मका निर्देशक दीपेन्द्र के खनाल निर्देशित नयाँ फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १६ सेकेन्ड लम्बाईको ट्रेलरमा विदेशबाट रातो बाकसमा आएको शव गाडीमा लिएर काठमाडौंदेखि बजुरासम्मको यात्रा गरेका तीन पात्रको कथा भनिएको छ ।

काठमाडौंबाट शव बोकेर हुँइकिएको बलेरो गाडीमा देशभक्त खनाल, स्वस्तिमा खड्का र अर्पण थापा छन् । मृत श्रीमानको शव गाडीमा लिएर घर फर्किँदै गरेकी महिला (स्वस्तिमा) को मनोविज्ञान, स-साना कुरामा ससुरा (देशभक्त खनाल) सँगको नोकझोंक र ड्राइभर (अर्पण) सँग सुसुप्त रुपमा पलाएको प्रेमलाई ट्रेलरमा देखाइएको छ । ट्रेलरमा स्वस्तिमाको अभिनय उत्कृष्ट देखिन्छ ।

कर्णाली लुक्समा प्रस्तुत भएकी उनले ट्रेलरमा बाजुराली भाषा बोलेकी छन् । बाजुराली भाषामा उनले पोखेको बेदना र दुःखले मन छुन्छ । फिल्म ‘बुलबुल’बाट अभिनयमा आफूलाई प्रमाणित गरेकी उनलाई ‘चिसो मान्छे’ले थप उचाइँ दिलाउने देखिन्छ । उनले ट्रेलर रिलिज कार्यक्रममा आफूले अहिलेसम्म काम गरेका फिल्ममध्ये ‘चिसो मान्छे’बाट बटुलेको अनुभव उत्कृष्ट रहेको बताइन् ।

डिएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेको यस फिल्ममा आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संयोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाललगायतको पनि अभिनय छ । असार ३ गतेबाट प्रदर्शनमा आउने फिल्मको कथा, पटकथा, संवाद तथा छायांकन निर्देशक खनालकै हो । फिल्मको सम्पादन दीर्घ खड्काले गरेका हुन् ।