आज भलिबल दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

[sharethis-inline-buttons]

काठमाण्डौँ-

राष्ट्रिय खेल भलिबल घोषणा भएको आज पाँच वर्ष पुगेको छ । तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले २०७४ साल ८ जेठ गते नेपालको राष्ट्रिय खेल भलिबल घोषणा गरेको थियो ।त्यसयता नेपाल भलिबल संघ, भलिबल क्लब र एकेडेमीका रुपमा रहेका संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरी यो दिनलाई भलिबल दिवसको रुपमा मनाउँदै आएका छन् ।

आज जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले खेलकुद पत्रकारसहित भलिबलमा क्रियाशिल ब्यक्तिबीच मैत्रीपूर्ण खेल आयोजना गर्दै भलिबल दिवस मनाउने भएको छ ।यता, न्यु डायमन्ड एकेडेमीले पुरानो नैकापमा साँझ त्रिभुवन आर्मी क्लबसँग खेल्दै दिवस मनाउने योजना बनाएको छ ।

नेपाल भलिबल संघका सदस्य तथा पूर्व खेलाडी भरत शाह भलिबललाई व्यवस्थित, विस्तार र भलिबल खेलको पूर्वाधारमा सहयोग गर्न सरोकारवाला निकायले सहयोग गर्नुपर्ने बताउँछन् ।हामी विस्तारै व्यवसायिक हुँदैछौँ, यसलाई अझै बिस्तार गर्न सरोकारवाला निकायले सहयोग गर्नुपर्छ । संघ एक्लैले केही गर्न सक्दैन’, उनले भने ।