काठमाण्डौँ-
नेपालको सन्दर्भमा विगतको आधा दशकदेखि मात्रै कानूनी रुपले राज्यले सम्पूर्ण नागरिकको सामाजिक सुरक्षा स्वास्थ्य बीमाको रुपमा सम्बोधन गर्ने गरी व्यवस्था कार्यान्वयन गरेको छ। जुन सर्वसाधारणको लागि खुसीको कुरा हो। किनभने यसले प्राथमिक उपचार बाहेकको विशेषज्ञ सेवा उपलब्ध गराउछ। स्वास्थ्य बीमामा कसरी बीमित हुने र यसका सेवा सुविधाबारे जानकारी राख्नु निकै जिज्ञासाको विषय भएको पाइन्छ। सरकारद्वारा संचालित स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन निकै सहज प्रक्रिया रहेको छ। यस कार्यक्रममा सदस्यता प्रदान गर्नको लागि स्थानिय सरकाको सम्बन्धित वडाको सिफारीसमा स्वास्थ्य बीमा बोर्डद्वारा हरेक वडामा दर्ता सहयोगीको नियु्क्ति गरिएको छ।
दर्ता सहयोगीहरु स्वत: सम्बन्धित वडा अन्तर्गतको सम्पर्ण घरमा घरदैलो गरी स्वास्थ्य बीमाको प्रचारप्रसार, नयाँ अभिलेख दर्ता तथा नविकरण गर्ने कार्य गर्नु हुन्छ। स्वास्थ्य बीमा दर्ता गर्ने बेलामै सम्वन्धित परिवारको सम्पुर्ण बीमित सदस्यहरुलाई क्युआर कोड सहितको छुट्टाछुट्टै स्वास्थ्य बीमा कार्ड प्रदान गरिन्छ। स्वास्थ्य बीमामा सामान्यदेखी जटिलखालको रोगको उपचारको व्यवस्था रहेको छ। मुख्यतया स्वास्थ्य बीमामा ओपिडी (बहिरंग), अन्तरंग, आपतकालीन (इमरजेन्सी), शल्यक्रिया, ल्याब तथा फार्मेसी समेतको गुणस्तरीय सुबिधा रहेको छ। यसका साथसाथै स्वास्थ्य बीमामा सुचिकृत भई धेरै प्रकारको एलोप्याथिक औषधि तथा २५ प्रकारको आयुर्वेदिक औषधि जस्तै: अश्वगंधा चूर्ण, विलवादी चूर्ण, चन्द्रनासी चूर्ण, काम दुधारस, महाशंख इत्यादि पाइन्छ।
निदानात्मक परीक्षण अन्तर्गत स्वास्थ्य बीमा कार्यक्रम मार्फत ब्यहोरिने निदानात्मक प्रयोगशालामा १५२ प्रकारको परीक्षण जस्तै: APTT, PT/INR,ABG gas, Beta HSG, Lipid Profile, Phenytoin Level, Serum Iron Profile, Toponin l (Quantitative), Anti CCP इत्यादि पाइन्छ। स्वास्थ्य बीमा गराउनुको अर्थ रोग पालेर बस्नु पर्दैन अर्थात रोगको कारणले कसैले पनि ज्यान गुमाउनु पर्दैन। हरेक नागरिकको आधारभूत स्वास्थ्यको जिम्मा सरकारको सरोकार भए पनि स्वास्थ्य बीमा मार्फत विशेषज्ञ सेवा समेत सजिलै लिन सकिन्छ। स्वास्थ्य बीमामा वीमित भइसकेपछि बीमितको स्वास्थ्यको तोकेबमोजिमको रकम सम्मको उपचारको जिम्मा स्वास्थ्य बीमाले विगतको आधा दशकदेखि बहन गर्दै आइरहेको छ। यसका साथसाथै सल्लाह सुझाव तथा गुनासो व्यवस्थापनको लागि स्वास्थ्य बीमा बोर्डले निशुल्का हट लाइन (पैसा न लाग्ने) सेवा समेतको व्यवस्था उपलब्ध गराएको छ।स्वास्थ्य खबर पत्रिका





































