युगान्डाविरुद्ध सिरिज आजदेखि, निशुल्क प्रवेश

[sharethis-inline-buttons]

काठमाडौं

(हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अफ्रिकी राष्ट्र युगान्डाविरुद्ध ५ खेलको टि२० अन्तर्राष्ट्रिय सिरिज आजबाट खेल्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला टोलीको पहिलो अन्तर्राष्ट्रिय घरेलु सिरिजका लागि प्रवेश निशुल्क गरेको छ । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ । नेपाली टोलीले सिरिजका लागि १६ सदस्यीय अन्तिम टोलीको घोषणा गरिसकेको छ । यसपटक टोलीमा दुई नयाँ अनुहार समावेश हुँदा अनुभवी स्पिनर करुणा भण्डारी भने टोलीमा रहने छैनन् ।

उनको स्थानमा यू-१९ टोलीको बन्द प्रशिक्षणमा रहेकी लेग स्पिनर हिरान्यमाये रोयलाई पहिलो पटकमै अन्तिम टोलीमा समावेश गरिएको छ । त्यस्तै यसअघि बन्द प्रशिक्षणमा रहँदै आएकी बलर अस्मिना कर्माचार्य पनि अन्तिम टोलीमा परेकी छिन् ।प्रशिक्षक जगत टमाटाले महिला टोलीका लागि यस्ता सिरिजले राम्रो अनुभव हुने अभियक्ति दिएका छन् । उनले नेपालले विश्वकप छनोटमा राम्रो नतिजा निकाल्ने हो भने अन्य देशसँग नियमित अन्तर्राष्ट्रिय खेल खेल्नुपर्ने बताए ।

उनले क्यानलाई पहिलो पटक सिरिज आयोजना गरेकोमा पनि धन्यवाद दिए ।नेपालले घरेलु मैदानमा पहिलो पटक सिरिज खेल्न लागेको हो । यसअघि सन् २०१९ मा महिला टोलीले पोखरामा दक्षिण एसियाली खेलकुद भने खेलेको थियो । नेपाल सागमा तेस्रो भएको थियो । टियु मैदानमा महिला टोली उत्रँदा समर्थकको साथ रहने उपकप्तान इन्दु वर्माले अपेक्षा गरेकी छिन् । उनले युगान्डाको सामना गर्न टोली तयार रहेको बताएकी छिन् ।