चेल्सीलाई हराउँदै लिभरपुल एफए कप च्याम्पियन

[sharethis-inline-buttons]

एजेन्सी –

मर्सिसाइड क्लब लिभरपुल एफए कपको च्याम्पियन बनेको छ । टाइब्रेकरमा गोलरक्षक एलिसन बेकर नायक बनेपछि प्रिमियर लिग क्लब चेल्सीलाई ६–५ ले पराजित गर्दै लिभरपुल च्याम्पियन बनेको हो । वेम्वली स्टेडियममा शनिबार राति भएको खेलको निर्धारित र थप गरिएको अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि टाइब्रेकरमा लिभरपुलले बाजी मारेको हो ।

लिभरपुलका जेम्स मिल्नर, थियागो अलकान्तरा, रोबर्टाे फिर्मिनो, ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड, डिएगो जोटा र कोन्सटाटिनोस टिसिमिकासले गोल गर्दा साडियो मानेले गोल गर्न सकेनन् । चेल्सीका मार्काेस अलन्सो, रिस जेम्स, रोस बार्कले, जर्गिन्हो र हाकिम जियाचले गोल गर्दा सेसर एज्पिलिक्वेटा र मासन माउन्टले गोल गर्न सकेनन् ।

लिभरपुल यो सिजन चार उपाधि जित्ने संघारमा रहँदा दुई उपाधि जितिसकेको छ । लिभरपुलले यसअघि लिग कपको उपाधि जितिसकेको छ । लिभरपुल प्रिमियर लिगको उपााधि नजिक रहँदा च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरिसकेको छ ।चेल्सी भने लगातार तीन सिजन फाइनल पुगेपनि उपाधिबाट बञ्चित बन्यो । गत सिजन चेल्सी लेस्टर सिटीसँग तथा त्यो भन्दा अघि आर्सनलसँग पराजित भएको थियो ।