सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको अभाब

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
सर्लाही
बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनी सुक्खा मौसम सुरू भएसँगै जिल्लाको चुरे क्षेत्रका बस्तीमा खानेपानीको अभाब देखिएको छ। जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झैँ यसवर्ष पनि खानेपानीको समस्या सुरु भएको हो।

उत्तरी चुरे क्षेत्रका धारा, इनार, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि सो क्षेत्रका बस्तीमा खानेपानीको अभाव सुरू भएको स्थानियको गुनासो छ। धारामा पानी आउन छाडेको धेरै भएको रे खोला तथा बगरका कुवाबाट पानी ल्याउने गरेको भए पनि अहिले ती कुवा पनि सुक्न थालेपछि खानेपानीको हाहाकार भएको हो।

ईश्वरपुर–१२ को घारी बथान, गुइडुङ, शिर फुलजोर, शिर कालिञ्जोर तथा लालबन्दी नगरपालिका–१५ का धुसेनी, देउराली, तिनघरे, वडा नं १२, १३ र १४ का अधिकांश बस्तीका साथै हरिवन नगरपालिका–१ को चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या देखिएको छ।

जिल्लाको बिकट क्षेत्र भनेर चिनिने यी स्थानका बस्तीमा अरू समयमा पनि सहजै शुद्ध पिउने पानी पाउन समस्या हुने गरेको भए पनि सुक्खा मौसम सुरू भएपछि खानेपानीको थप समस्या देखिएको इश्वरपुर–१२ की जानकी माया विकले बताइन्। जिल्लाको चुरे क्षेत्रका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुन महिनाबाटै खानेपानीको समस्या सुरु हुन्ने गर्छ।
स्थानीय सरकारलाई यो विषयमा जानकारी भएको भए पनि समस्या समाधान गर्न स्थानीय सरकार लागि नपरेको उनिहरुको गुनासो छ ।
यसवर्ष हिउँदमा पर्याप्त पानी नपर्नाले, बढ्दो वन विनाश र उत्खननले गर्दा पछिल्ला वर्षमा खानेपानीका स्रोत चाँडो सुक्न थालेका प्राविधिकले बताएका छन्। हिउँदका केही महिना जिल्लाको उत्तरी चुरे क्षेत्रका अरु बस्ती भालुखोप केराबारी, वनमारा, बेलडाँडा, कालिञ्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङरेखोला लगायतका क्षेत्रमा खानेपानीको समस्या हुने गरेको भए पनि त्यो समस्या समाधान गर्न स्थानीय सरकार लागि नपर्दा सो क्षेत्रका सयौँ बस्तीमा खानेपानीको समस्या दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको देखिएको छ।

एक गाग्री खानेपानी जोहो गर्न अहिले चुरेका स्थानीय बासिन्दा घण्टौं धाएर छिमेकी गाउँसम्म पुग्न बाध्य छन्। गाउँका सयौँ घरधुरीका लागि अहिले खानेपानीको जोहो गर्न निकै समस्या झेल्ने गरेको देखिएको छ।