बर्दिवास,वैशाख २५ गते ।
नेपालका प्रायः चकलेटी हिरोहरु अभिनयमा कमजोर रहेको टिप्पणी हुने गर्छ । अनमोल केसी, पल शाह, सलिनमान बनियाँको अभिनयलाई आधार मानेर सबै चकलेटी हिरोहरुलाई एउटै नजरबाट हेर्ने गरिन्छ । तर, केही चकलेटी हिरोहरुले अभिनयमा आफूलाई अब्बल प्रमाणित गरेका छन् । आर्यन सिग्देल, प्रदीप खड्का, धिरज मगर, पुष्प खड्का यसका ज्वलन्त उदाहरण हुन् । पुष्प खड्काले डेब्यू फिल्म ‘अझै पनि’ र दोस्रो फिल्म ‘दर्पण छायाँ २’मा चित्तबुझ्दो अभिनय गर्न सकेका थिएनन् । तर, तेस्रो फिल्म ‘मंगलम’मा उनले जीवन्त अभिनय गरे । यो फिल्मले उनलाई राष्ट्रिय अवार्ड समेत दिलायो । उनले फिल्म ‘मारुनी’मा पनि राम्रो अभिनय गरेका थिए । भदौ ३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘कृष्ण लीला’मा पनि उनले मनछुने अभिनय गरेको बताइन्छ ।
उनले आफ्नो अभिनयमा थप सुधार गर्दै लगेको छनक म्यूजिक भिडियोमा पनि देखिन थालेको छ । हालै मात्र यूट्युबमा सार्वजनिक भएको चर्चित गजल गायक थानेश्वर गौतमको स्वरमा रहेको ‘बेचेर सपना मैले रात किनेको छु’ बोलको गीतमा पुष्पले जीवन्त अभिनय गरेका छन् । उनले गीतको भावमा डुबेर गरेको अभिनयलाई दर्शकहरुले अहिलेसम्मकै उत्कृष्ट भन्दै प्रशंसा गरेका छन् ।
उक्त भिडियोमा सडक दुर्घटनामा परी देहान्त भएकी श्रीमतिको यादमा तड्पिएको युवाको भूमिकामा पुष्पले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा फिल्म झैं संवाद बोल्न नपर्ने भएकाले कलाकारको अभिनय एक्सप्रेसन र हाउभाउबाट व्यक्त हुन्छ । पुष्पले यीनै दुई कुराबाट भिडियोमा अभिनय क्षमता देखाएका छन् । उनको मनछुने अभिनयले गीतको भिडियोलाई सशक्त बनाएको छ ।
यतिबेला सामाजिक सञ्जालमा सर्वाधिक चर्चामा रहेको ‘बेचेर सपना’ गीतमा पुष्पसँगै शुसिला थापा र स्मारिका ढकालको अभिनय छ । भिडियोमा गायक गौतम पनि फिचर्ड छन् । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् भने मानकृष्ण महर्जनको छायांकन तथा बन्दे प्रसादको सम्पादन छ । गीतको शब्द श्रीभक्त पौडेल ‘आफन्त’को हो भने संगीत थानेश्वर स्वयंले भरेका हुन् ।