काठमाडौं (हाम्रो खेलकुद) –
खराब ब्याटिङसँगै घरेलु टोली नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा जिम्बावे ए लाई १ सय ३७ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ३१.३ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । नेपालका सोमपाल कामीले ७० बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३० रन बनाए । करण केसीले ३६ बलमा ३ चौकासहित २५ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
तीव्र गतिका बलर भिक्टर न्याउचीले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई १९ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । १० बल खेलेका कुशलले ४ चौका प्रहार गरे । अर्को ओभरको पाँचौं बलमा ब्राड ईभान्सको बलमा आसिफ शेख ५ रनमा एज लागेर विकेटकिपर क्लाइभ मडान्डेबाट क्याच भए ।भिक्टरले आरिफ शेखलाई ५ रनमा बोल्ड आउट गर्दा नेपाल ३३–३ को कमजोर अवस्थामा पुगेको थियो । इभान्सले आठौं ओभरको दोस्रो बलमा रोहित पौडेललाई ३ रनमा एलबीडब्लू आउट गर ।
इभान्सले दशौं ओभरको पाँचौं बलमा दीपेन्द्रलाई विकेटकिपरबाट १८ रनमा क्याच गराएपछि नेपालको ठूलो योगफलको सम्भावना सकिएको थियो ।स्पिनर ब्रेन्डन मभुताको बलमा ठूलो सट खेलेका आदिल अन्सारी लङअफमा इभान्सबाट २ रनमा क्याच भए । सुशान भारी ११ बल खेल्दै शून्यमा मभुताको बलमा बोल्ड आउट भए । आठौं विकेटका लागि करण केसी र सोमपाल कामीले ३७ रनको साझेदारी गर्दै इनिङलाई केहि उकासेका थिए ।
जिम्बावे ए का तीव्र गतिका बलर ब्राड इभान्सले ८.३ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । भिक्टर न्याउचीले ६ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । ब्रेन्डन मभुताले ७ ओभरमा १ मेडनसहित २४ रन खर्चेर २ विकेट लिए । चेपाश झुवाओले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिए ।