आज्ञा सम्वाददाता
काठमांडौ
जबरजस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका कलाकार पल शाहले जिल्ला अदालत तनहुँ र नवलपरासीको आदेशविरुद्ध उच्च अदालत पोखरामा दर्ता गराएको रिटउपर बिहीबार सुनुवाइ हुँदै छ।
न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको इजलासमा शाहको मुद्दा पेशी तोकिएको छ। उनको मुद्दा दोस्रो नम्बरमा पेसी रहेको छ। जिल्ला र उच्चले थुनामा पठाएपछि त्यसलाई चुनौती दिँदै शाहले उच्च अदालत पोखरामा चैत १८ र वैशाख १३ गत दुई वटा निवेदन दिएका थिए। उक्त निवेदनमा सुनुवाइ गर्दै वैशाख १५ गते उच्च अदालत पोखराले शाहको बलात्कार मुद्दाका २ वटै निवेदन एकसाथ पेस गर्न आदेश जारी गरेको थियो।
उच्च अदालतले तनहुँ र नवलपुर जिल्ला अदालतका आदेशविरुद्ध परेका छुट्टा–छुट्टै निवेदन एकसाथ पेस गर्न भनेको थियो। जिल्लावाट प्रतिवेदनसमेत पेस भएको र एकै साथ निवेदन पेस भएर सुनुवाइ हुन लागेकाले जिल्लाको आदेशको न्यायिक परीक्षण हुने जनाइएको छ।
सुरुमा शाहविरुद्ध रहेका जाहेरवाला पीडित बालिका र उनका बुबाले साक्षी वकपत्रमा बयान फेरेका थिए। जिल्ला अदालतमा बकपत्र दिँदा उनीहरुले जाहेरीवाला समयको उल्टो तर्क गरेका थिए।
उनीहरुको बयान होस्टाइल भएपछि सफाइ पाउने हो कि भनी आशंका हुँदै आएको छ। उच्चले उनको मुद्दामा धरौटी वा सामान्य तारेखमा रिहा गर्ने कि थुनामै पठाउने दुवै जिल्लाको आदेश सदर गर्ने भन्नेमा निर्णय दिनेछ।
उच्चले जिल्लाको आदेश सदर गरेमा उनी थुनामै रहनेछन् । यदि धरौटी वा तारेखमा रिहा गर्ने आदेश गरेमा उनी छुट्नेछन् । यदि उच्चले पनि जिल्लाकै आदेश सदर गरेमा शाह सर्वोच्चसम्म आउन पाउने छन्।