काठमाडौं –
अभिनेता भुवन केसी सत्तारुढ दल नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार बिहान बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भुवनसहितका कलाकारलाई पार्टी प्रवेश गराए ।दुई साताअघिसम्म स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरको उम्मेदवार बन्ने कुराले चर्चामा रहेका केसी सबैलाई चक्मा दिंदै कांग्रेस प्रवेश गरे ।केसीले सरकारले जिम्मा दिए चलचित्र विकास बोर्डको नेतृत्व हाँक्ने समेत बताए ।
राजनीतिमा प्रवेश गरेपछि सच्चा मन, वचन र कर्मले नै देश र नेपाली दाजुभाइ दिदीबहिनीहरुको सेवामा समर्पित हुँदै र कला क्षेत्रमा मैले गर्न सक्ने कुरालाई ख्याल गर्दै उहाँहरुले दिने जिम्मेवार निर्वाह गर्न म तयार छु । सबैजनाको सल्लाह लिएरै म अघि बढ्छु । बाँकी जिन्दगी पनि कला क्षेत्रमै बिताउँछु । मेरो पहिलो प्राथमिकता पनि कला क्षेत्र नै हो । म कलाकार भुवन केसीको रुपमै चिनिन रुचाउँछु । तर कतिपय ठाउँमा कलाकारले राजनीति गर्न सक्दैनन् वा कलाकार राजनीतिमा आउनु हुँदैन भन्ने सुनिन्छ ।मेरो व्यक्तिगत विचारमा यदि
मौका पाएको खण्डमा कलाकारले आफ्नो देश र जनताको लागि तन, मन र वचनले नै राजनीति गर्न सक्छन् यसका लागि कलाकारसँग भिजन पनि छ किनभने हामी गाउँ–गाउँ, बस्ती र चोकमा पुगेर दर्शक तथा जनतासँग प्रत्यक्ष साक्षात्कार भएर एकअर्काका कुरा सेयर गरेका छौं ।कांग्रेस पार्टीले नै हामी कलाकर्मीलाई धेरै स्वागत गरेको र समस्याको समाधान गर्न सक्छ भन्ने लागेर म पार्टी प्रवेश गरेको हुँ ।
कलाकार मात्र होइन विभिन्न क्षेत्रका व्यक्तित्वहरु जसले आफ्नो क्षेत्रमा दक्षता हासिल गर्नुभएको छ र जिन्दगी बिताउनुभएको छ । ती सबै व्यक्तिलाई आफ्नो क्षेत्रलाई अघि बढाउन हरेक क्षेत्रका मानिसहरु राजनीतिमा निस्वार्थ भावले लाग्नुहुन्छ भने त्यसप्रति अरु क्षेत्रका मान्छेप्रतिभन्दा विश्वास जाग्छ भन्ने लाग्छ ।कलाकारलाई सधैं भाषण र चुनावमा लैजाने र कलाकारलाई सधैं गहना मात्र हुन् भनेर भाषणमा मात्र सीमित राख्नुभएन । मौका मिलेको खण्डमा कलाकारले देश पनि हाँक्न सक्छन् भन्ने अवसर प्रदान गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
चलचित्रमा सफल हुन पनि दर्शक चाहिन्छ । राजनीतिमा सफल हुन पनि दर्शकको साथ चाहिन्छ । तर दुवै क्षेत्रमा सफल हुन अपार माया, स्नेह र नेपालीको मन जित्नुपर्छ । मन नजितिकन सफल भइँदैन । म फिल्मको भएकाले निरन्तर फिल्म क्षेत्रलाई अघि बढाउन लागिरहन्छु । अन्तिम साससम्म पनि नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय लेभलमा लैजान चाहन्छु । राजनीतिले यदि मलाई सपोर्ट गर्यो भने म यसमा अघि बढ्छु । म मेरा चलचित्रलाई विश्वभरि फैलाएर विदेशको पैसा नेपाल भित्र्याउने कोशिश गर्नेछु ।