आज्ञा सम्वाददाता
सप्तरी
सप्तरीमा अज्ञात समुहले लुटपाट गरेको छ । घरका पुरुषहरु उपचारकालागि भारत गएको मौका छोपेर लुटपाट गरिएको हो।
सुरुङ्गा नगरपालिका ७ स्थित मिथिलेश मिश्रको घरमा गएराति दुई जना महिला मात्र घरमा भएको अवस्थामा आधा दर्जन लुटेराले लुटपाट गरेका हुन् ।
लुटेराहरुले गएराति करिब ३ बजेको समयमा बन्दुक र खुकुरी देखाएर छ लाख रुपैयाँ बराबरको गरगहना लुटेको इलाका प्रहरी कार्यालय कडरवोनाले जनाएको छ ।
लुटेराको समुहले मानिसलाई आतंकति पार्ने उद्देश्यले नक्कली बन्दुक पनि बोकेको हुनसक्ने कडरवोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले बताए । नकावधारी समूहले नगद भने लुटेको छैन । लुटेराहरुको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ । अज्ञात समूहका दुई जनाले घरभित्र पसेर लुटेका थिए भने अन्यले बाहिरबसेर सुराकी गरेको पीडित परिवारले प्रहरीसमक्ष बताएका छन ।