काठमाडौं-
अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिएका छन् ।
बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय तथा मातहतका गुणस्तर तथा नापतौल विभागसँग अर्थ मन्त्रालयमा धानको उत्पादन वृद्धि, क्वारेन्टाइन व्यवस्थित सञ्चालन र गुणस्तर प्रमाणिकरणका विषयमा आयोजित छलफलमा उनले यस्तो निर्देशन दिएका हुन् ।
छलफलमा अर्थमन्त्री शर्माले चामलको बढ्दो आयातलाई यसै वर्षदेखी घटाउनुपर्ने दबाव रहेको बताए । ‘दुई महिनादेखि मैले धानको उन्नत बिउ किसानलाई बाँँढ्ने योजना ल्याउनु भनिरहेको छु । तर तपाईंहरु (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन’ उनले भने ।
मन्त्री शर्माले नेपालमा सूचीकृत भएका उन्नत जातको धान बिउको सूची, आयातकर्ता व्यवसायी र उन्नत जातको बिउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्यांकसहित बिहीबार पुनः छलफलमा आउन निर्देशन दिए ।