आज्ञा सम्वाददाता
सलाही
सर्लाहीमा प्रमुख राजनीतिक दलसहित स्वतन्त्रबाट आसन्न स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिलाले पनि उम्मेदवारी दिएका प्रमुख पदमा उम्मेदवारी दिने ६ महिलामा ५ जना भने प्रमुख दलकै छन् ।
नेकपा एमालेले तीन तथा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले एक÷एक स्थानीय तहमा महिला उम्मेदवार अघि सारेका हुन् । एक महिलाले भने स्वतन्त्रबाट उम्मेदवारी दिएकी छन् । एमालेले बरहथवा नगरपालिको प्रमुखमा कल्पना कटुवाल, चन्द्रनगर गाउँपालिकामा संगीतादेवी महतो नुनिया र ब्रह्मपुरी गाउँपालिकाको अध्यक्षमा रीता साहलाई उम्मेदवार बनाएको छ । चन्द्रनगरमा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवैमा महिलालाई उम्मेदवार बनाएको छ । उसले दलित समुदायबाट राजन्ती पासवानलाई उपाध्यक्षको उम्मेदवार बनाएको हो ।
२०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट पालिका प्रमुखको उम्मेदवार बनेकी बरहथवाकी कटुवालले तेस्रो धेरै मत ल्याएकी थिइन् । ब्रह्मपुरीमा अध्यक्षमा उम्मेदवारी दिएकी साह २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी थिइन् । त्यसबेला उनले पाँचौं सर्वाधिक मत ल्याएकी थिइन् ।
नेकपा माओवादी केन्द्रले गोडैता नगरपालिकामा अनिता देवीलाई दोस्रो पटक नगरप्रमुखका लागि उम्मेदवार बनाएको छ । उनले गत निर्वाचनमा तेस्रो ठूलो मत ल्याइन् । यसपटक पनि उनको सामना लोसपाका निवर्तमान प्रमुख देवेन्द्र यादव र कांग्रेस नेता उपेन्द्र कुशवाहासँग हुनेछ । पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी भएको नेकपा समाजवादीले भने लालबन्दीको प्रमुखमा रमा पौडेललाई उठाएको छ ।
वाग्मती नगरपालिकामा स्वतन्त्रबाट प्रहरी ‘इन्काउन्टर’ मा मारिएका नेत्रविक्रम चन्द समूहका तत्कालीन जिल्ला इन्चार्ज कुमार पौडेलकी श्रीमती धनकुमारी पौडेलले उम्मेदवारी दर्ता गराएकी छन् ।
‘संघीयतापछिको पहिलो निर्वाचन भएकाले ०७४ मा सबैमा अन्योल थियो । अहिले सबैले स्थानीय तहमा स्रोत र शक्ति देखेका छन्, त्यसैले स्थानीय तहमा पुरुषको मात्र होइन महिलाको पनि आकर्षण बढेको छ,’