काठमाडौं, वैशाख १४ ।
९ महिनामै ९८ लाख ८ हजार ‘बुक’ तास (प्लेइङ कार्ड) आयात भएपछि सरकारले तासको आयात रोकेको छ । गत साउनदेखि चैतसम्म मात्रै नेपालमा १९ करोड ५५ लाख १० हजार रुपैयाँको तास आयात भएको छ ।९ महिनाको अवधिमा तासबाट मात्रै सरकारले १० करोड २६ लाख रुपैयाँ भन्सार राजस्व उठाएको थियो ।
नेपालमा तास -प्लेइङ कार्ड)को प्याकेटको माग उच्च हुन्छ । दशैंतिहारमा कतिपयले जुवाका रुपमा त कतियले रमाइलोको रुपमा मात्रै तास खेल्ने प्रचलन छ । तर, यसरी खेलिने तास देशभित्र उत्पादन हुँदैन, यसका कारण वर्षमा करोडौं रुपैयाँ तास आयातमा खर्च हुने गरेको छ ।
बितेको पाँच वर्षमा मात्रै नेपालमा ६ करोड ६२ लाख प्याकेट तास आयात भएको छ ।
भन्सार विभागका अनुसार यो पाँच वर्षमा १ अर्ब ५ करोडको तास आयात भएको हो । चालु आर्थिक वर्षको तथ्यांक पनि जोड्ने हो भने आकडा करिब १ अर्ब २५ करोड रुपैयाँ पुग्छ ।अनलाइन खबर