तीन जिल्लाको नयाँ निर्वाचिन मिति तोकिने

[sharethis-inline-buttons]

गोरखा (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य तीन जिल्ला संघको स्थगित निर्वाचनको मिति केहि दिनमा तय हुने भएको छ । गोरखा, सिन्धुली र सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन स्थगित भएको थियो । एन्फाले वैशाख १ देखि १० गते सम्म जिल्ला संघको निर्वाचनका लागि मिति तय गरेको थियो । ४८ मध्ये बाँकी अधिकांश जिल्लामा निर्वाचन सम्पन्न भइसकेको छ ।

गोरखामा अध्यक्ष दीपेन्द्र श्रेष्ठले अन्तिम समयमा अधिवेशन स्थगित गरेका थिए । आफू अल्पमतमा परेपछि श्रेष्ठ अधिवेशन रोकेको ६ क्लबका प्रतिनिधिले आरोप लगाएका छन् । गोरखाका उपाध्यक्ष आनन्द गुरुङको अध्यक्षतामा बैठक बसि अधिवेशन गर्नेका लागि एन्फासँग पत्र प्राप्त भएको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए ।

त्यस्तै सिन्धुलीमा अध्यक्षका दुई उम्मेदवारको समान ५ मत भएपछि अर्को निर्वाचन हुन बाँकी छ । त्यस्तै सुर्खेतमा प्रतिनिधि विवाद परेपछि अधिवेशन स्थगित भएको थियो । ‘अध्यक्ष , वरिष्ठ उपाध्यक्ष ज्यूसहित सचिवालयको बैठकबाट तीन वटा जिल्लाको निर्वाचनका लागि नयाँ मिति तय हुनेछ,’ तुलाधरले बताए ।

गोरखाका ६ वटा क्लबका मताधिकार प्रतिनिधिहरुले शनिबाार प्रेस विज्ञप्ती जारी गर्दै श्रेष्ठलाई अल्पमतमा परेर अधिवेशन स्थगित गरेको आरोप समेत लगाए थिए । तीन जिल्लाबाहेक महिला संघ, रेफ्री संघको निर्वाचन हुन बाँकी छ । असार ६ गते हुने एन्फा निर्वाचनका लागि एन्फाका सदस्य संघहरुको निर्वाचन भइरहेको छ ।