काठमाण्डौँ-
अभिनेत्री मिथिला शर्मालाई २०७७ सालको ‘हरितारा चलचित्र पुरस्कार’ प्रदान गरिने भएको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा बसेको बैठकले अभिनेत्री शर्मालाई पुरस्कार प्रदान गर्ने निर्माण गरेको हो । त्यस्तै, २०७८ सालको ‘हरितारा चलचित्र पुरस्कार’ रंग पत्रकार विदुर गिरीलाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशी ५० हजार छ ।
वि.सं. २०५२ सालमा विजया राणा (तारा नानी) ले आफू र आफ्ना पति हरि शम्सेरको नाममा अक्षय कोष राखी स्थापना गरेको ‘हरितारा चलचित्र पुरस्कार’ फिल्म क्षेत्रकै पहिलो पुरस्कार हो । यसैगरी, परिवर्तन नेपालले २०७७ र २०७८ सालको दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अभिनेता विनोद श्रेष्ठ र प्राविधिक मनोज केसीलाई प्रदान गर्ने भएको छ । यो पुरस्कारको राशी दश हजार छ ।
परिवर्तन नेपालले मदन घिमिरे, ज्ञानेन्द्र देउजा, श्रीदेव भट्टराई, मौनता श्रेष्ठ र राज कुमार शाहलाई ‘परिवर्तन नेपाल विशेष सम्मान’ र शारदा गिरी, जनक खकुरेल, देवेन्द्र पाण्डे, दिपाशा वि.सी, नन्दा बस्याल, मन्जु निरौला, रजनी अर्याल र रेणु पौडेललाई ‘परिवर्तन सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ । परिवर्तन नेपालले निर्देशक स्वर्गीय चेतन कार्कीको स्मृतिमा पुरस्कार पनि स्थापना गरेको छ ।
स्थापना वर्षको पुरस्कार कलाकार देशभक्त खनाललाई प्रदान गरिने परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । त्यस्तै, ‘परिवर्तन पत्रकारिता विशेष सम्मान’ सञ्चारकर्मी दिनेश सिटौलालाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कार तथा सम्मानको सिफारिस निर्देशक तथा कलाकार मोहन निरौला, गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी शान्तिप्रियको समितिले गरेको हो ।