आज्ञा सम्वाददाता
महोत्तरी
स्थानीय तहको निर्वाचनका लागि आइतबारबाट मनोनयन सुरु भएपनी महोत्तरीका धेरैजसो राजनीतिक दलहरुले आज सोमबार उम्मेदवारी दर्ताको तयारी थालेका छन् । आइतबार केही उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका थिए ।
सत्ता गठबन्धनका दल तथा प्रमुख प्रतिपक्षी एमाले आइतबार दिनभर उम्मेदवार टुंग्याउन व्यस्त रहेकामा आज मनोनयन दर्ता गराउने भएका हुन् ।
आइतबार बर्दिबास नगरपालिकामा दुई जनाले मात्र मनोनयन दर्ता गराए । उपमेयर र वडा अध्यक्षकाका लागि मात्र उम्मेदवारी परेको थियो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुबोधकुमार महतोका अनुसार आइतबार भंगाहा नगरपालिकामा एक जना, मट्टीहानीमा नौ जना, सम्सीमा १६ जना, लोहारपट्टीमा पाँच जना, रामगोपालपुरमा तीन जना, महोत्तरी गाउँपालिकामा ४२ जना, जलेश्वरमा एक सय तीन जना, सोनामा १८ जना, पिपरामा एक जना, गौशालामा दुई जना, बल्वामा ६० जना र औरहीमा पाँच जनाले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी महोत्तरी जिल्ला भरीनै निर्वाचन कार्यालयहरुमा ‘हिजो धेरै उमेदवारी नपरेकाले, आज मनोनयन दर्ताको चाप बढ्ने जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ।