मुम्बईलाई लगातार आठौं हारबाट बच्न चुनौती

[sharethis-inline-buttons]

एजेन्सी –

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सले आज लखनऊ सुपर जायन्ट्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरु हुनेछ । आइपिएलको सर्वाधिक च्याम्पियन टोली मुम्बई लगातार सात हारका साथ पुछारमा छ । मुम्बई लखनऊलाई हराउँदै पहिलो जित निकाल्ने सोचमा हुनेछ । लखनऊ मुम्बईलाई हराउँदै दोस्रो स्थानमा उक्लिन चाहन्छ । लखनऊ ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंकका साथ पाँचौं स्थानमा छ ।

यसअघि पहिलो खेलमा लखनऊले मुम्बईलाई १८ रनले हराएको थियो । उक्त खेलमा लोकेश राहुलले ६० बलमा १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए । जारी सिजनका सर्वाधिक रन बनाउने तेस्रो सूचिमा रहेका राहुल मुम्बईमाथि लगातार हाबी हुँदै आएका छन् ।
२०१८ यता राहुलले मुम्बईविरुद्ध २४, ९४, ७१, १००, १७, ७७, ६०, २१ र १०३ रन बनाएका छन् ।

मुम्बईविरुद्ध राहुलको औसत रन पछिल्लो नौ इनिङमा ९४.५ छ । त्यसैले राहुलको विकेट धेरै महत्वपूर्ण हुनेछ । लखनऊ पछिल्लो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १८ रनले पराजित भएको थियो । ओपनरमा राहुल र क्विन्टन डि कक छन् । लखनऊको मध्यक्रम भने कमजोर पक्ष हो । मध्यक्रममा क्रुनाल पान्ड्या, मनिष पाण्डे र दीपक हुडा छन्

जयदेव उनादकटको स्थानमा मुम्बईले तीव्र गतिका बलर अर्जुन तेनदुलकरलाई मौका दिनसक्छ । भारतीय पूर्व सफल ब्याटर सचिनका छोरा अर्जुन डेब्यूको पर्खाइमा छन् । मुम्बईका ओपनर रोहित शर्मा र ईशान किशन खराब लयमा छन् । यी दुबै ओपनर चेन्नईसँग डक आउट भएका थिए । ईशान र रोहितको खराब लयको कारण मुम्बईले संघर्ष गर्नु परेको छ ।

मुम्बई यी दुई खेलाडीबाट उत्कृष्ट सुरुवात चाहन्छ । डेवाल्ड ब्रेभिस, सूर्य कुमार यादव र तिलक बर्मा भने राम्रो लयमा छन् । मुम्बई काइरन पोलार्डबाट पनि उत्कृष्ट अन्त्य चाहन्छ । पछिल्लो खेलमा मुम्बईको तीव्र गतिको बलिङ आक्रामण राम्रो देखिएको थियो । चेन्नईविरुद्ध ड्यानियल साम्सले चार विकेट लिएका थिए ।

ड्यानियल साम्स, राइली मेरिडीथ र जस्प्रित बुमराहको जोडी टोलीको नायक बन्न सक्छन् । तर यस सिजनमा बुमराहले भने संघर्ष गरेका छन् मुम्बईको स्पिन आक्रामण भने कमजोर छ । चेन्नईसँग डेब्यू गरेका स्पिनर अलराउन्डर हृथिक शोकिनले राम्रो सम्भावना देखाएका छन् ।वानखडेको छोटो बाउन्ड्रीमा विशाल योगफल बन्न सक्छ । राजस्थानले पछिल्लो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध २ सय २२ रन बनाएको थियो  दिल्लीले उक्त लक्ष्य पछ्याउनेक्रममा २ सय ७ रन बनाएको थियो । वानखडेको पिचमा १ सय ८० भन्दा कम योगफल सुरक्षित गर्न कठिन पर्दछ ।