काठमाण्डौँ-
नेपाली फिल्मका तीन सुपरस्टार राजेश हमाल, शिव श्रेष्ठ र भुवन केसी लामो समयपछि एकसाथ देखिएका छन् । बुधवार फिल्म ‘ए मेरो हजुर ४’ हेर्न हल पुगेका पुगेका उनीहरुबीच मिडियाको अगाडि हाँसो-ठट्टा समेत चलेको थियो । भुवन र शिवले राजेश हमालको सन्तानको फिल्म हेर्ने इच्छा व्यक्त गर्दा हमालले आफू अझै बच्चा रहेकाले बच्चाको बच्चा हुन समय लाग्ने बताएका थिए ।
भुवन केसीले आफ्नो छोरा फिल्ममा आइसकेको र शिवको छोराको पनि फिल्म हेरिसकेकाले अब राजेशको छोराको फिल्म हेर्ने इच्छा रहेको बताउँदा हमालले भनेका थिए, ‘म आफैं बच्चा छु । बच्चाको बच्चा हुन समय लाग्छ । भुवनजी र शिवजीको उमेरमा पुगेपछि म पनि बच्चा हुर्काउला नी ।’ शिव र भुवनले राजेशको छोरा फिल्ममा आउँदा आफूहरुले सघाउने प्रतिवद्धता जनाए ।
हमालले ‘ए मेरो हजुर ४’को पनि खुलेर प्रशंसा गरे । उनले फिल्मको कथाले आफूलाई छोएको बताए । अनमोल र सुहानाको अभिनयलाई लिएर उनले भने- ‘फिल्म हेर्दा मान्छे फिल्ममा डुबेपछि अभिनय त्यसै राम्रो देखिन्छ । अभिनय कस्तो छ, के छ भनेर हेर्न थाल्यो भने त्यहाँ खासै राम्रो अभिनय नदेखिन पनि सक्छ । जब तपाईं कथामा बग्न थाल्नुहुन्छ, त्यहाँ अभिनय राम्रो देखिन्छ ।’
त्यस्तै, अभिनेता शिव श्रेष्ठले आफूले अहिलेसम्म यति राम्रो फिल्म नहेरेको दाबी गरे । ‘फिल्म धेरै राम्रो छ । हामीले कल्पना पनि नगरेको फिल्म बनेको छ । म नेपाली फिल्म हेरेर त्यत्ति रोएको छैन, आज रोएँ । ‘ए मेरो हजुर ४’ हेरेपछि मलाई के लाग्यो भने अब नेपाली फिल्मलाई कसैले पनि छुन सक्दैन । अनमोल र सुहाना दुवैको अभिनय राम्रो लाग्यो । फिल्म साँच्चै राम्रो छ,’ उनले भने ।
भुवन केसीले भने निर्देशक झरना थापाले फिल्ममा गरेको मेहनत पर्दामा देखिएको बताए । उनले ठूलो विदेशी फिल्म आएपनि नेपाली दर्शकले नेपाली फिल्मलाई नै साथ दिन्छन् भन्ने कुरा ‘ए मेरो हजुर ४’ले प्रमाणित गरेकोमा पनि खुसी व्यक्त गरे । उनले राजेश हमाल र शिव श्रेष्ठसँग कहिल्यै कुनै विषयमा विवाद नरहेको र आफूहरु सधैं साथमा रहेको पनि स्पष्टिकरण दिएका छन् ।
त्यस्तै, फिल्म हेर्न हल पुगेका कलाकार किरण केसीले झरना थापाको निर्देशकीय क्षमताको खुलेर प्रशंसा गरे । तीन-चार ठाउँमा आफू रोएको बताउँदै उनले सुहानालाई लामो रेसको घोडाको रुपमा ब्याख्या गरेका छन् । कलाकारहरु जितु नेपालले पनि फिल्म राम्रो बनेको र फिल्म हेर्दा आफू रोएको बताए । कलाकारहरु शिवहरी पौडेल र पूजा शर्माले पनि फिल्मको प्रशंसा गरेका थिए ।