काठमाण्डौँ-
अभिनेता पल शाहलाई जबर्जस्ती करणीको आरोपमा तनहुँ र नवलपरासी प्रहरीमा जाहेरी दिने नाबालिगका बुबाले पनि अदालतमा बयान फेरेका छन् । आफ्नी नाबालिग छोरीलाई शाहले विभिन्न प्रलोभन देखाई विभिन्न ठाउँमा पटक-पटक जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएका नाबालिगका बुबाले मंगलवार जिल्ला अदालत तनहुँमा उपस्थित भएर बकपत्र गर्ने क्रममा बयान फेरेका हुन् ।
नाबालिगका बुबाले अदालतसमक्ष छोरीलाई करणी गरेको सुनेको भरमा अरुको उक्साहटमा प्रहरीमा जाहेरी दिएको तर अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा पाएकाले करणीको घटना नभएको बताएका छन् । उनले बयान फेरेसँगै पल कानुनी रुपमा बलियो बनेका छन् । दुई दिनअघि तनहुँ जिल्ला अदालतमा नाबालिगले पनि आफूलाई शाहले करणी नगरेको भन्दै बयान फेरेकी थिइन् ।
विभिन्न प्रलोभन देखाएर नाबालिग र उनको परिवारलाई ‘होस्टाइल’ बनाइएको हुनसक्ने कानुन व्यवसायीहरुको आशंका छ । नाबालिग र उनका बुबाले बयान फेर्दैमा पल शाहले सफाइ पाइहाल्ने अवस्था नभएपनि अदालतले केलाई प्रमाणको रुपमा लिन्छ, त्यो महत्त्वपूर्ण हुने बताइएको छ । नाबालिगका बुबाको बकपत्रअघि गायक दुर्गेश थापाले पनि अदालतमा बकपत्र गराएका छन् ।
नाबालिगका बुबाले प्रहरीमा दिएको जाहेरीमा पल शाहले ०७७ चैत ३१ गते गलकोट महोत्सव जाने-आउने क्रममा नाबालिगमाथि गाडीभित्रै संवेदनशील अंग चलाउने, जिस्काउनेजस्ता कार्य गरेको, गत वैशाख १४ गते पोखराको एक घरमा मदिरा पिएर नाबालिग बसेको कोठामा गई जबर्जस्ती करणी गरेको, नवलपरासीमा एक सुटिङको क्रममा होटलमा जबर्जस्ती करणी गरेको उल्लेख छ ।