जनकपुर र नेपालगञ्ज उपमहानगरको भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमांडौ
सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । जनकपुर र नेपालगञ्ज उपमहानगरमा भागबण्डा नमिलेपछिे बैठक आज पनि बस्ने भएको हो।

गएराति अबेरसम्म भएको छलफलमा जसपाले दुवैको मेयरमा दावी नछोडेपछि आज फेरि बैठक हुन लागेको हो । ६ महानगर र ९ उपमहानगरपालिकाका मेयर र उपमेयरको बाँडफाँट टुंगिए पनि जनकपुर र नेपालगञ्जमा सहमति जुट्न सकेको छैन ।
११ वटा उपमहानगरमध्ये धरान र धनगढीमा कांग्रेसले मेयर र माओवादीले उपमेयर तथा इटहरी, बुटवल र तुलसीपुरमा कांग्रेसले मेयर र एकीकृत समाजवादीले उपमेयर पाउने सहमति भएको छ । यस्तै घोराही र जितपुर–सिमरामा माओवादीलाई मेयर र कांग्रेसलाई उपमेयर दिने गरी बाँडफाँट भएको छ ।
६ वटा महानगरमा भने सहमति भैसकेको छ । सहमति अनुसार काठमाण्डौमा मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादी, ललितपुरमा मेयर कांग्रेस र उपमेयर माओवादी, विराटनगरमा मेयर कांग्रेस र उपमेयर जसपाबाट उम्मेदवार बन्नेछन् । हेटौंडामा मेयर एकीकृत समाजवादी र उपमेयर कांग्रेस तथा कलैयामा मेयर कांग्रेस र उपमेयर जसपाले पाउने सहमति भएको छ ।

यस्तै भरतपुरको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी, पोखराको मेयरमा एकीकृत समाजवादी र उपमेयरमा कांग्रेस तथा वीरगंजको मेयरमा जसपा र उपमेयरमा कांग्रेसबाट उम्मेदवार हुनेछन् ।

भरतपुर, पोखरा र वीरगञ्जमा अरु दललाई नेतृत्व छाडेपछि कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।