आज्ञा सम्वाददाता
सिरहा
सिरहाको लहानमा नेकपा एमालेविरुद्ध जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले बेग्लै गठबन्धनको तयारी गरेको छ ।
दुवै दल मिल्दा पनि एमालेलाई हराउन चुनौती देखेपछि उनीहरुले कांग्रेसको पनि साथ खोजेका छन् । तर कांग्रेसले आफु एक्लै चुनाव लड्ने घोषणा गरेपछी मेयर कांग्रेसलाई दिएर तीन दलबीच चुनावी तालमेल गर्ने बिषयमा पनि छलफल भइरहेको छ ।
उपेन्द्र यादवको पार्टी मधेस आन्दोलनकै कारण उदाएको भएपनी पटक–पटक सत्तामा पुगेर समेत मधेसको पक्षमा काम नगरेको गुनासोबीच एमालेतिर बढेको आकर्षण सत्तघटक सबै दललाई चुनौतीको विषय बनेको छ । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा समेत मधेसविरोधी भनिएको एमालेले लहानको मेयर र उपमेयरसहित अधिकांश वडामा बिजी बनेको थियो । आइतबार जसपा र माओवादीबीच भएको सम्झौताअनुसार मेयर र १४ वटा वडा जसपाले लिनेछ । उपमेयर र १० वटा वडा माओवादीको भागमा परेको छ । यो सम्झौता दुवै दलका नेताहरुले मौखिकरुपमा मात्र गरेका छन् ।
एमाले विभाजन भएपनि लहानमा खासै असर परेको छैन । अहिले पनि लहानमा एमालेलाई कांग्रेस होस् वा जसपा र माओवादी एक्लैले हराउन सम्भव छैन । अगामी वैशाख ३० मा हुने स्थानीय चुनावमा उपेन्द्र यादव नेतृत्वको जसपाले माओवादीकै सहयोगमा लहानमा कब्जा जमाउने प्रयास गरेको छ ।
कांग्रेसले लहानमा गठबन्धन नगरी एक्लै लड्ने निर्णय गरेपछि माओवादीसँग गठबन्धन गर्ने निर्णय गरेको जसपा नेता राकेश गुप्ता रोषण बताउँछन् ।
उनले भने, ‘हामीले केन्द्रको निर्णयबमोजिम चार दलबीच गठबन्धन होस् भन्ने चाहेका छौं । तर कांग्रेसले गठबन्धन नगर्ने निर्णय गर्यो । र एकीकृत समाजवादीले मेयरमा दाबी गरेकाले कुरा मिल्न गाह्रो भयो । त्यसैले जसपा र माओवादीबीच गठबन्धन गर्ने निर्णय गर्यौं ।’
लहान ७ का निर्वाचित वडाध्यक्ष समेत रहेका जसपा नेता रोषणले नेपाली कांग्रेस गठबन्धनमा आयो भने मेयर दिने स्पष्ट पारे । उनले थपे, ‘गठबन्धन गर्ने सहमति भयो भने कांग्रेसलाई मेयर दिन तयार छौं । त्यसपछि जसपाले उपमेयर लिन्छ । र माओवादी नेताहरु पनि उपमेयर छाडेर वडाध्यक्षमा चित्त बुझाउन तयार छन् ।’
कांग्रेससँग गठबन्धन नभए जसपाले मेयरमा चन्द्रनारायण कुशवाहालाई टिकट दिएर मैदानमा उतार्ने सम्भावना छ । उनको कृषि फर्ममा करोडौंको लगानी गरेका छन् । यसअघि लहानको मेयरमा निर्माण व्यवसायी वैजनाथ साह चुनाव लडेका थिए । यसपालि पनि उनको नाम सिफारिस भए पनि टिकट कुशवाहालाई दिने जसपा स्रोतले जनाएको छ ।
यता कांग्रेस नेता महेश चौधरीले लहानमा गठबन्धन गर्ने विषयमा माओवादी र जसपा नेताहरुसँग छलफल भइरहेको बताए । उनका अनुसार मेयर कांग्रेसलाई, उपमेयर जसपालाई र दुई वटा वडा माओवादीलाई दिने तथा २२ वटा वडामा मित्रवत रुपमा प्रतिस्पर्धा गर्नेगरी सहमतिको प्रयास भइरहेको छ । तीन दलबीच गठबन्धन बनेपछि नेकपा एकीकृत समाजवादी एक्लिने छ ।
कांग्रेसमा दुई चौधरीको भिडन्त
नेपाली कांग्रेसबाट महेश चौधरी र सन्तोष चौधरीमध्ये एकजनाले लहानको मेयरको टिकट पाउने चर्चा चलिरहेको छ ।
सन्तोष कांग्रेस केन्द्रीय सदस्य पदमनारायण चौधरीका छोरा हुन् । उनी यसअघि प्रदेशसभा सदस्यमा पराजित भएका थिए । पदमनारायण चौधरी लहान क्षेत्रबाट पटक–पटक संघीय सांसद बनेका छन् । उनले योपटक छोरालाई टिकट दिलाउन चाहेका छन् ।
तर टिकट भने महेश चौधरीले नै पाउने लगभग पक्का छ । बुवाको बलमा राजनीतिमा जम्न खोजेका सन्तोषको पहुँच ग्राउण्ड लेभलमा छैन । महेशले भने जनतामाझ समाजसेवीको छवि बनाएका छन् । त्यसैले महेशले नै टिकट पाउने लगभग निश्चित रहेको कांग्रेसका नेताहरु बताउँछन् ।
गठबन्धन गर्दा पनि एमाले नै बलियो !
विगतको मतपरिणामलाई केलाउँदा यो निर्वाचनमा नेपाली कांग्रेस, जसपा र नेकपा माओवादी केन्द्रले गठबन्धन गर्दा पनि एमालेलाई हराउन चुनौती देखिएको छ ।
गत निर्वाचनमा नेकपा एमालेबाट मेयरमा निर्वाचित मुनी साह सुडीले ११ हजार ३०७ मत ल्याएका थिए । कांग्रेसका अचमित लाल चौधरी ९ हजार १३८ ल्याएर दोस्रो भएका थिए । यस्तै तत्कालीन संघीय समाजवादी फोरम (अहिलेको जसपा)का वैद्यनाथ साहले ५ हजार ७३७ र माओवावदीका खड्ग नारायण चौधरीले २ हजार ४९६ मत ल्याएका थिए ।
तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा चुनाव लडेर ४ हजार ४४६ मत ल्याएका लगनलाल चौधरी अहिले नेकपा एमालेमा छन् । उनी स्थानीय तहको निर्वाचन सकिएलगत्तै एमालेमा प्रवेश गरेर प्रदेशसभा सदस्यमा निर्वाचित हुन सफल भए । उनी अहिले पनि एमालेमै छन् । यस्तै तत्कालीन राजपाबाट मेयरमा चुनाव लडेर ८१५ मत ल्याएका डा. महादेव साह पनि अहिले एमालेमा छन् । यो सबै मत जोड्दा १६ हजार ५८७ हुन्छ ।
एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेको छ । तर लहानमा विभाजनको खासै असर परेको छैन । केही मत मात्र एकीकृत समाजवादीले काट्ने सक्छ ।
यता, कांग्रेस, जसपा र माओवादीको मत जोड्दा १७ हजार ३७१ पुग्छ । तीन पार्टीले गठबन्धन गर्दा र एमाले एक्लै चुनाव लड्दा करिब १ हजार मतको अन्तर छ । गठबन्धन गर्दा रुष्ट बनेका नेताहरुले विपक्षमा मतदान गर्दा पुनः एमालेले बाजी मार्ने सम्भावना छ ।