आज्ञा सम्वाददाता
काठमाडौं- बैशाख ३० मा हुने निर्वाचन नजिकीएसंगै मिडियाहरुले आचारसंहिता उल्लङ्घन गर्ने क्रम बढेको काउन्सिलले जनाएको छ ।प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई स्पष्टीकरण सोध्दै पुनः त्यस्तो गल्ती नगर्न सचेत गराएको छ । गत शनिबार जनकपुरमा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राखेको धारणालाई तोडमोड गरी समाचार सम्प्रेषण गरेकोभन्दै काउन्सिलले इ–जनकपुर टुडे डट कमलाई आइतबार स्पष्टीकरण सोधेको छ ।
प्रमुख निर्वाचन आयुक्त नै चुनाव विरोधी अभियानमा’ शीर्षक राखी समाचार सम्प्रेषण गरेको थियो । प्रमुख आयुक्तले राख्नुभएको धारणालाई गलत अर्थ लाग्नेगरी समाचार बनाएकोमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको काउन्सिल नेपालका उपप्रशाकीय अधिकृत रामशरण बोहराले बताए ।
मिडियाले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएमा कानूनअनुसार कारबाही गरिने काउन्सिल नेपालले जनाएको छ ।काउन्सिल नेपालका अनुगमन अधिकृत सुरेन्द्र मल्लले सो मिडियालाई पत्र लेखी आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको हो
त्यस्तै, काउन्सिलले दैनिकी डट कमलाई शुक्रबार एक पत्र लेखी आचारसंहिता उल्लङ्घन नगर्न निर्देश गरेको छ । ।‘लाज पचेकाहरुले गठबन्धन गर्ने भन्दै जनतालाई भेँडा नबन्न पशुपति शर्माको आग्रह’ शीर्षकको समाचार सो मिडियाले सम्प्रेषण गरेको थियो । त्यसैगरी प्रेस काउन्सिल नेपालले गत शुक्रबार हिमालय टेलिभिजनलाई पनि आचारसंहिता उल्लङ्घन नगर्न भन्दै सजग गराएको छ ।
अनुगमन अधिकृत मल्लका अनुसार सो मिडियालाई आचारसंहिता कार्यान्वयनमा सजग गराएको हो । सो टेलिभिजनले ‘ प्रधानमन्त्री देउवाका ज्योतिषीको भविष्यवाणी स्थानीय तह निर्वाचन सर्छ, देउवा झन् शक्तिशाली’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । पुनः त्यस्तो त्रुटी नगर्न नगराउन काउन्सिलले सचेत गराएको हो ।
सोहीअनुसार शुक्रबार नै काउन्सिल नेपालले सूत्र न्यूज डट कमलाई एक पत्र लेख्दै आचारसंहिता उल्लङ्घन नगर्न सचेत गराएको छ । सो मिडियाले ‘वैशाख ३० मा स्थानीय चुनाव हुँदैन, समय लाग्छः माधव नेपाल’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो । सो समाचारले काउन्सिलको ध्यानाकर्षण भएको र पुनः त्यस्तो त्रुटी नगर्न नगराउन सो मिडियालाई निर्देश गरिएको अनुगमन अधिकृत मल्ले जानकारी दिए ।
काउन्सिलले निर्वाचन आचारसंहिता कार्यान्वयनमा मिडिया सचेत हुनुपर्ने र निर्वाचनलाई सफल पार्न मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्ने सन्देश दिन आफूहरु निरन्तर अनगुमन गरिरहेको उपप्रशासकीय अधिकृत बोहराले बताए । उनका अनुसार प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता उल्लङ्घन गरे नगरेकोबारे नियमित मिडियाको अनुगमन गरिरहेको छ ।