जनकपुरधाम- जिल्ला क्रिकेट सङ्घ धनुषाको आयोजनामा जनकपुरधाममा सम्पन्न भएको दोस्रो जनकपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि धनुषा रोयल क्रिकेट एकेडेमीले प्राप्त गरेको छ ।
नेपाल भारतका १६ टिमको सहभागिता रहेको टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो स्थान जनकपुर क्रिकेट एकेडेमीले प्राप्त गरेको छ ।
आज भएको फाइनल खेलमा धनुषा रोयल क्रिकेट एकेडेमीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।
प्रतिउत्तरमा व्याटिङ्ग गरेको जनकपुर क्रिकेट एकेडेमी १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८ रन मात्र बनाएर ४९ रनले पराजित भयो ।
आजको खेलमा म्यान अफ दि म्याचको उपाधि धनुषा रोयल क्रिकेट एकेडेमीका विशाल सुसलिन भएका छन् । उनले ५१ रन तथा १ विकेट लिएका थिए ।
प्रतियोगिता अवधिमा उत्कृष्ट खेल खेलेबापत जनकपुर क्रिकेट एकेडेमीका विक्रान्त यादव म्यान अफ दि सिरिज, वेस्ट व्याट्स म्यानको उपाधि जनकपुर क्रिकेट एकेडेमीका नसाद अलि तथा वेस्ट बलरको उपाधि जनकपुर क्रिकेट एकेडेमीका सुजित मण्डल भए ।
प्रतियोगितामा विजेता टिम धनुषा रोयल क्रिकेट एकेडेमीलाई ५१ हजार नगद, शिल्ड, कप तथा प्रमाणपत्र एवं उपविजेता जनकपुर क्रिकेट एकेडेमीलाई ३५ हजार नगद शिल्ड कप तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
विजयी भएका टिमलाई पूर्व खेलाडी एवं निर्माण व्यवसायी दीपेन्द्र ठाकुर तथा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रञ्जितकारले नगद, शिल्ड कप एवं प्रमाणपत्र प्रदान गरेका थिए ।