आज्ञा सम्वाददाता
पर्सा
पर्सामा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) एक्ला–एक्लै निर्वाचनमा लड्ने लिखित निर्णय गरेका छन् । उनीहरुले कुनै पनि पालिकामा कांग्रेस र जसपाबीच गठबन्धन नगरी प्रतिस्पर्धा गरेर नै निर्वाचनमा जाने लिखित निर्णय गरेका हुन् । काँग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्री र जसपाका पर्सा अध्यक्ष रामनरेश यादवबीच शनिबार लिखित निर्णय भएपछि भने अब पर्सामा एमाले, काँग्रेस र जसपाका बीच त्रिपक्षीय कडा प्रतिष्पर्धा हुने संकेत देखिएको छ । त्यसमा पनि मधेश प्रदेशको एक मात्र महानगर वीरगन्जको लडाई निकै रोमाञ्चक हुने छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति क्षेत्रीले भने, ‘हामी आफै काफी छौं एक्लै लड्न, अनि अरुसँग गठबन्धन किन गर्ने ? बरु मित्रवत प्रतिष्पर्धा गर्ने हो,’ उनले भने ।
पर्साका १४ पालिकामध्ये १४ वटामा नै काँग्रेसको नेतृत्व जनताले चाहेको र नेपाली काँग्रेसका स्थानीय कार्यकर्ताको भावना र जनताको चाहना अनुसार गठबन्धन नगरी अगाडी बढ्ने निर्णय गरिएको उनले बताए ।
उता जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव पनि स्थानीय तहको निर्वाचनमा स्थानीय नेता कार्यकर्ताको भावना विपरित अगाडी बढ्न कठिन हुने भएपछि मित्रवत प्रतिष्पर्धाको बाटो रोजेको बताउँछन् । ‘केन्द्रको हस्तक्षेप नभए तल्लोस्तरबाट एक्ला–एक्ला नै अगाडि बढ्ने निर्णयमा पुगियो,’ उनले भने ।
मधेश प्रदेशको एक मात्र महानगरमा वीरगन्जमा गठबन्धन भए कांग्रेस वा जसपामध्ये एकले नगरप्रमुख पद छोडेर अर्कोलाई सघाउन पर्ने हुन्छ । यसो गर्नुपूर्व केन्द्रियस्तरका नेताले यो पालिका र जिल्लाका अन्य पालिकामा पनि गठबन्धन गरेर अगाडी बढ्न संकेत गरेपछि त्यसको कार्यकर्ता भित्रबाटै चर्को विरोध भइरहेको छ । कार्यकर्ताको विरोध र एक्लै लडेर पनि जित्न सकिन्छ भन्ने आँटले काँग्रेस र राजपाका जिल्ला नेतृत्वको संयुक्त बैठकले अलग–अलग लड्ने निर्णय गर्न बाध्य पारेको हो । केन्द्रले हस्तक्षेप नगरे पर्साको सन्दर्भमा भने १४ पालिका मध्ये १४ वटामा नै मित्रवत प्रतिस्पर्धा गर्ने भनी उनीहरुले लिखित नियर्ण गरेका हुन् ।
नेपाली काँग्रेसका नगर तहका नेता कार्यकर्ताले रुख वाहेक अर्को चुनाव चिन्हमा भोट हाल्न नसकिने भन्दै केही दिन अगाडि नै गठबन्धनको चर्को विरोध गर्दै पत्रकार सम्मेलन गरेका थिए । जसपाका नेता कार्यकर्ताले पनि अरु पार्टीको चुनाव चिन्हमा भोट माग्न अप्ठ्यारो हुने बताउँदै आएका थिए ।
कुन पार्टीको पल्ला भारी हुन्छ ? आँकलन गर्नै सकस
गएको निर्वाचनमा समाजवादी फोरम (अहिलेको जसपा) बाट चुनाव जितेका वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगी केही दिन पहिले एमालेमा प्रवेश गरी एमालेबाटै पुनः नगरप्रमुखमा चुनाव लड्ने भएका छन् । केन्द्रको सत्तापक्षीय दलको गठबन्धन भए त्यसबाट विद्रोह गर्ने कार्यकर्ताको भोट एमालेमा पर्दा उनको पल्ला भारी पर्ने स्थानीयको समिक्षा थियो । तर काँग्रेसका सभापति क्षेत्री र जसपाका अध्यक्ष यादवबीच शनिबार भएको संयुक्त निर्णयले त्यो समिक्षा पनि उल्टाइदिएको छ । त्यसै गरी केन्द्रको हस्तक्षेप नभए पर्साका अरु १३ पालिकामा पनि आगामी परिणाम फेरिएर आउँने स्थानीयको आँकलन छ ।