सिरहामा हतियार बुझाउन सर्वसाधारणको अटेर

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
सिरहा
जिल्ला प्रशासन कार्यालय सिरहाले चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेपनि कैयन हतियार नबुझाएको पाइएको छ । आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचन सुरक्षाकालाई मध्यनजरगर्दै जिल्ला प्रसासन कार्यालय सिरहाले जिल्लामा ३ सय १४ थान इजाजत प्राप्त हतियार (बन्दुक) रहेकाले ति हतियार बुझाउन पत्र मार्फत सुचना जारी गरेको थियो। तर सुचनाको अटेर गर्दै आजसम्म २२ थान हतियारमात्र प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले तोकेको समयमा सवै हतियार नआएको जानकारी दिए । उनले अब गृहमन्त्रालयबाट आएको निर्देशन बमोजिम गर्ने बताए ।

उनले भने, ‘प्रशासन कार्यालयले चैत मसान्तभित्र बुझाउन पत्र लेखेको थियो । यो अवधिमा ३ सय १४ मध्ये २२ थान हतियारमात्रै प्राप्त भएको छ, बाँकी ल्याउने विषयमा माथिको निर्देशन बमोजिम गर्नेछौं ।’
जिल्ला प्रशासन कार्यालयले गत चैत ७ गते सूचना जारी गरी तोकिएको समयसीमाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही गर्ने उल्लेख गरेको थियो ।