मलेसियालाई हराउँदै रुपन्देही च्याम्पियन

[sharethis-inline-buttons]

काठमाडौं (हाम्रो खेलकुद) –

दुई साता अघि नेपाल र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टि२० आई सिरिज खेलेको मलेसियालाई हराउँदै क्रिकेट एसोसियसन अफ रुपन्देही-११ ले प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । रुपन्देहीले मलेसियालाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली रुपन्देहीले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । रुपन्देहीको जितमा विकेटकिपर प्रज्वल थापाले ६१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७१ रनको इनिङ खेले । सन्दीप रजालीले ४५ बलमा ४ चौका र १ छक्कासहित ४१ रन बनाए ।

ओपनर देव खनाल १२ रनमा सैद अजिजको बलमा कट एण्ड बोल्ड आउट भएपनि त्यसपछि प्रज्वलले सानदार ब्याटिङका साथ च्याम्पियन बनाएका हुन् । दोस्रो विकेटका लागि प्रज्वल र सन्दीपले १ सय १२ रनको शतकीय साझेदारी गर्दै जित पक्का गराए । कृष्ण कार्की र बशिर अहमदले २-२ रन बनाए । मोहम्मद वफिक, सायद अजिज र सर्भिन मुनिएन्डीले समान १ विकेट लिए ।

त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया-११ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनायो । मलेसियाका नाजरिल रहमानले २२ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३६ रन बनाए । मोहम्मद आमिर १८, विरनदीप सिंह ११, जुबैदी जुल्किफ्लिी २६, अहमद फैज १२ र सैद अजिज २० रनमा आउट भए ।

बशिर अहमद ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कृष्ण कार्की, रुपेश कुर्मी, विक्रम भुषाल र विशाल विक्रम केसीले १-१ विकेट लिए । मलेसिया नेपाल र पीएनजीसँग त्रिकोणात्मक सिरिज खेल्न आएको थियो । उक्त सिरिज खेलेर प्रो क्लब खेल्न भैरहवा पुगेको थियो । समूह चरणमा मलेसियालाई रुपन्देहीले ६ विकेटले हराएको थियो ।