आज्ञा सम्वाददाता
बीरगंज
भन्सार नाकाको प्रमुख रुपमा परिचित एकीकृत भन्सार जाँच चौकी आइसिपी बीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७८÷०७९ ् चैत्र मसान्त सम्ममा १ खर्ब ५५ अर्ब ३८ करोड २९ लाख ५७ हजार रुपैयाँ राजस्व असुली गरेको छ । बीरगंज भन्सार कार्यालयलाई अर्थ मन्त्रालय राजस्व विभागले चालु आर्थिक वर्षको ९ महिनामा १ खर्ब ५१ अर्ब ९३ करोड, १४ लाख २३ हजार राजस्व असुली गर्ने लक्ष्य दिएको थियो ।
भन्सार विभागले तोकेको लक्ष्यभन्दा पनि २ दशमलव ३ प्रतिशतभन्दा बढी राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले बताएका छन ।
आयात निर्यात व्यापार बीरगंज नाकाबाट बढ्दै जानु र इन्धन, सवारी साधनको आयात समेत बढिरहेको कारण बीरगंज भन्सार कार्यालयले अर्थ मन्त्रालयले तोकेको लक्ष्यभन्दा पनि बढी राजस्व असुल गर्न सफल भएको भन्सार कार्यालयले जनाएको छ।
लक्ष्यभन्दा ३ अर्ब ४५ करोड १५ लाख ३४ हजार बढी राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।
कार्यालयले चालु आर्थिक बर्ष २०७८÷०७९ को ९ महिनामा भन्सार राजस्वतर्फ ५६ अर्ब ५२ करोड ३ लाख ६१ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ ६१ अर्ब ९९ करोड ९७ लाख १९ हजार राजस्व असुली भएको छ ।
त्यसैगरी, अन्त शुल्कतर्फ १६ अर्ब ११ करोड १९ लाख ७६ हजार असुली गरेको हो।
कार्यालयले पूर्वाधार करतर्फ १२ अर्ब ३० करोड ४९ लाख ६८ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्कतर्फ १ अर्ब ७ करोड २२ लाख ९२ हजार असुली गरेको छ ।
यसैगरी, भन्सार कार्यालयले सडक मर्मत तथा सुधार दस्तुरतर्फ ३ अर्ब ६ करोड ४७ लाख ८१ हजार राजस्व असुली गरेको छ भने सडक निर्माण तथा सम्भार दस्तुरमा ३ अर्ब ९७ करोड ७५ लाख ५ हजार असुल गरेको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
आईसिपी भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि चैत्र मसान्तसम्मको ९ महिनामा १ खर्ब २४ अर्ब ७७ करोड ५२ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
चालू आर्थिक वर्षको सोही अवधिमा गत वर्षभन्दा ३० अर्ब ६० करोड ७७ लाख २८ हजार रुपैयाँ बढी राजस्व सङ्कलन भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए।