आज्ञा सम्वाददाता
बर्दिवास
आज मधेसमा जुरशितल पर्व मनाइँदैछ । नव वर्षको शुभआरम्भसंगै वैशाख २ गते मधेशका जिल्लामा जुरशितल मनाइन्छ ।
आजको दिन एकाबिहानै घरका जेष्ठ मान्यजन सदस्यले आफूभन्दा परिवारका साना सदस्यलाई शिरमा जल सिंचित गर्दै आर्शीवाद दिने चलन छ ।
मान्यजनको आशीर्वादले वर्षभरि नै शितलता, सुख, समृद्धि, शान्ति एवं दीर्घायु तथा उत्तरोत्तर प्रगति हुन्छ भन्ने जनविश्वास छ । यो पर्वको अवसरमा मिथिलाञ्चल लगायत मधेसका विभिन्न स्थानमा हिलोपानीमा कुस्ती खेल्ने चलन रहेको छ ।
आजका दिन रुख बिरुवामा पनि सिंचित गरिनुका साथै खेतबारीमा समेत मलजल गरिन्छ । जुर शितलमा जल सिंचित गर्दा आफूभन्दा सानाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्न सक्ने जनविश्वास छ । सूर्यको तापबाट मानवलगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूख्य उद्देश्य रहेको छ ।
आजको दिनमा अघिल्लो दिन नै पकाएको बासी भात चुह्लो देवतालाई चढाएर घरघरमा भात, दाल, तरकारी, करही बरी, तरुवा, भुटेको र तारेको परिकारलगायत मिठा ,मिता परिकार पकाएर खाने चलन रहिआएको छ । जुडशितलको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।