काठमाडौं –
आगामी बिहीबार ‘ए मेरो हजुर ४’ र दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ रिलिज हुने भएपछि फेरि एकपटक ‘विदेशी फिल्मको प्रभुत्व’को विषयले स्थान पाएको छ ।फिल्म प्रदर्शनमा राष्ट्रवादको मुद्दाले स्थान पाएपछि सामाजिक सञ्जालका भित्ता विभाजित देखिन्छन् । यस्तोमा नेपाली फिल्मका निर्माता, निर्देशक र कलाकारले विदेशी फिल्मको प्रभुत्वका विषयमा आक्रोश पोखेका छन् ।
यस विषयमा ‘ए मेरो हजुर ४’का निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापा सबैभन्दा बढी आक्रोशित छन् । नहुन् पनि किन ? शो विभाजनलाई लिएर उनको फिल्म विदेशी फिल्मको पेलानमा परेको देखिन्छ ।दुवै जनाले फेसबुकमा स्टाटस लेख्दै यसबारे क्रुद्ध प्रतिक्रिया दिएका छन् ।
विदेशी फिल्मको दबदबालाई लिएर सुनिल र झरनाले आ-आफ्नो टाइमलाइनमा लेखेका छन्, ‘अहिले हामी विदेशी चलचित्रसँग एक्लै लड्नुपरेको छ । भोलि तपाईंले पनि लड्नुपर्ने नै छ । बुढी मरी भन्दा पनि काल पल्किएको हेक्का राख्नु हुन विनम्र अनुरोध छ । आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईंलाई बाँकी राख्छ त ?’