काठमाडौँ —
संविधान सभा सदस्य तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले देशमा विकास भएको देख्न चाहने महिलाहरू राजनीतिमा आउनुपर्ने बताएकी छिन् । सोमबार नारी मासिकद्वारा आयोजित कार्यक्रम ‘निर्भीक नारी’ का किनोट स्पिचका क्रममा देउवाले सबै महिला राजनीतिमा आउनुपर्ने बताएकी हुन् ।
अझै पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको उल्लेख गर्दै उनले भनिन्, ‘निडर महिला हुनलाई म राजनीतिमा आएँ । देश विकास भएको देख्न चाहनुहुन्छ भने सबै महिलाहरु राजनीतिमा आउनुपर्छ ।’
त्यस्तै महिला र पुरुषको हुर्काइमा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । हुर्काइदेखि नै महिला र पुरुषमा विभेद गरिने कुरा उल्लेख गर्दै देउवाले हुर्काइमा समानता भए धेरै सुधार हुने बताइन् । आफ्ना अभिभावकले आफूलाई दाजुभाइलाई झैं नै हुर्काएको पनि उनले बताइन् ।