काठमाण्डौँ चैत २८ गते
सत्तागठबन्धन दलले ठाउँ र अवस्था अनुसार चुनावी तालमेल गर्न अपिल गरेका छन् । सोमबार बालुवाटारमा सत्तागठबन्धन दलको बसेको बैठक पश्चात सत्तागठबन्धनका शीर्ष नेताले स्थानीय तहको चुनावमा तालमेल गर्न अपिल गरेका हुन् ।सत्तागठबन्धन दलले संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख ३० मा हुने स्थानीय चुनावमा देशैभर गठबन्धन गर्न अपिल गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण साथीहरूलाई आह्वान गर्दछौं ।’नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जसपा नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले चुनावी तालमेलको अपिलमा हस्ताक्षर गरेका छन् ।
पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन उनीहरूले अपिल समेत गरेका छन्। विगतका मतभेदलाई पन्छाउँदै अघि बढ्न समेत उनीहरुले आग्रह गरेका हुन् ।