आज रामनवमी पर्व मनाईदै

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
चैत शुक्ल नवमीका दिन अर्थात आजकै दिन मनाइने रामनवमी पर्व श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।
राजा जनककी सुपुत्री जानकीको मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन अर्थात् आज राम नवमी, असत्यको अन्धकारमाथी सत्य अनि मर्यादाको उज्यालोको प्रतिककारुपमा आज मनाईदैछ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बिहरूले आजको दिन श्रद्धा, भक्ति अनि आराधनाका साथ आज स्वदेस तथा बिदेसमा रामको जीवन अनि घटनाक्रम झल्काउने नाटक, सभा, किर्तन लगायतका कार्यक्रमहरुको आयोजना गर्ने गर्दछन् ।

हिन्दू धर्ममा आस्थावान जो कोही राम नवमीका दिन सबेरै नुहाइधुवाइ, शुद्ध बनी राम मन्दिरहरुमा पुगि पूजा आराधना गर्दछन् । रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकिय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभयो । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी श्रीरामचन्द्रले मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभयो । यही सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

राम नवमीका दिन जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौं श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् । यसै दिन राजधानीको बत्तिसपुतली, ललितपुर र भक्तपुरका अन्य राम मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गर्दछ ।

परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दशैँ मानिन्थ्यो । चैतको गर्मीका कारण असोजको नवरात्रमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दशैँका रुपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दशैँ भनिन्छ । आज देशभरका नदि, ताल एवं कुण्डहरुमा नित्य स्नान गरी ब्रत बस्ने गरिन्छ र रामगीता पाठ गरिन्छ । साथै अध्यात्मयुक्त वाल्मीकीकृत्य भानुभक्तीय रामायण समेत वाचन गरिन्छ । रामभक्तियुक्त भजनकीर्तनका साथ रात्री जाग्राम बस्ने परम्परा समेत चलिआएकोछ ।