‘स्वदेशी उद्योगलाई आत्मनिर्भर बनाए कुनै पनि महामारीमा औषधि अभाव हुँदैन’

[sharethis-inline-buttons]

काठमाडौं –

स्वदेशी उद्योगलाई आत्मनिर्भर बनाउन सके कोभिड जस्ता महामारीमा कुनै पनि औषधिको अभाव नहुने सरोकारवालाले बताएका छन्। स्वास्थ्य खबरपत्रिकाले आयोजना गरेको ‘कोभिड महामारीपछिको नेपाली औषधि बजार: अवसर र चुनौती’ विषयक अन्तरक्रियामा बोल्दै उनीहरुले स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए।

औषधि उत्पादक संघ एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डेले उद्योगको विकास र विस्तार भइरहेपनि विभिन्न कारण आत्मनिर्भर हुन नसकेको बताए। औषधिका मुद्दालाई राजनीतिको विषय र मुद्दा नबनाउन उनको आग्रह थियो।उनले भने, ‘औषधिलाई राजनीतिक विषय बनाएर अनावश्यक मुद्दा बनाइनु हुँदैन। औषधि सम्बन्धी छुट्टै नीति बनाउनुपर्छ। चाहे जो आओस परिवर्तन हुने खालका हुनु भएन।’
औषधि सम्बन्धी नियमन गर्ने निकाय नै कमजोर भएको उनले बताए।

एपोनका महासचिव विप्लव अधिकारीले स्वदेशमा भएका उद्योगलाई आत्मनिर्भर बनाएर कुनै पनि महामारीमा औषधिको अभाव र समस्या नहुने बताए। नयाँ बन्ने औषधि सम्बन्धी ऐनले स्वदेशी उत्पादकको समस्या सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए।मूल्य समायोजनका सम्बन्धमा महासचिव अधिकारीले पारासिटामोल, पुनर्जलीय झोल (जीवनजल) लगायत औषधिको मूल्य समय अनुसार समायोजन गर्नुपर्ने बताए।
‘लागत नै नउठ्ने भएपछि उत्पादन गर्न समस्या हुन्छ। यी सबै समस्याहरु नयाँ बन्ने ऐनले सम्बोधन गर्न आवश्यक छ।

’ उनले भने, ‘नेपालमा कुन औषधि बन्छ र बाहिरबाट ल्याउनुपर्ने के के छन् भन्ने कुराको विश्लेषण आवश्यक छ।’एपोनका पूर्व अध्यक्ष जी नारायण बहादुर क्षेत्रीले नाकाबन्दी, कोरोना महामारी लगायतको विपदमा स्वदेशमा उत्पादन हुने औषधिको अभाव हुन नदिएको बताए। महामारीको बेलामा सरकारले पूर्व तयारी र योजना नबनाएको बताउँदै उनले समस्या आएपछि मात्र छलफल गर्ने प्रचलन बढी भएको उल्लेख गरे। स्वास्थ्य मन्त्रीहरुले आफुहरुलाई आश्वासन मात्र दिने तर कार्यान्वयन नगर्ने गरेको उनको गुनासो थियो।

विभागका महानिर्देशक भरत भट्टराईले सीमित जनशक्ति र स्रोत साधनका कारण सोचेको जति काम गर्न नसकेको बताए। यद्यपि स्वदेशी उद्योगको विकासका लागि आफुले सक्दो प्रयास गर्ने उनको भनाई थियो। नीति, ऐनदेखि सबै व्यवस्थाहरु पुनर्संरचना गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन उपाध्यायले देशमा राजनीतिक स्थिरता नभएसम्म कुनै पनि क्षेत्रमा समुचित विकास हुन नसक्ने बताए। देश संघीयतामा गएपनि औषधि व्यवस्था विभाग संघीय संरचना अनुसार जान नसकेको पनि उनले बताए।

सरकारले निर्माण गर्न लागेको स्वास्थ्य रणनीतिमा विभाग तथा अस्पतालहरुको पुनर्संरचनाका लागि संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे गर्ने तयारी भएको उनले जानकारी दिए। जसले हालका समस्याहरु समाधान हुनेमा उनको विश्वास थियो। औषधिको गुणस्तरमा अझै पनि ध्यान दिन उद्योगीहरुलाई उनको सुझाव थियो।टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपालमा क्यान्सरका औषधिको बजार, चुनौती र अवसरका विषयमा आफ्नो धारणा राखेका थिए भने एभरेष्ट प्यारेन्टियल्सका कार्यकारी निर्देशक उमंग राना सरियाले स्लाइनको उत्पादन र बजारका विषयमा प्रष्ट पारेका थिए।

स्तै क्यूबिडी फर्मास्युटिक्लसका जेनेरल म्यानेजर मार्केटिङ ऋषि भण्डारीले नयाँ औषधि कम्पनीको चुनौतीका विषयमा आफ्नो धारणा राखेका थिए। क्वालिटी सर्कल कोअर्डिनेटर सुमित चन्द्र श्रेष्ठले औषधिको गुणस्तरका विषयमा जानकारी दिएका थिए।