‘ए मेरो हजुर ४’ र ‘केजीएफ २’को कलेक्सन बराबर हुने निर्माता थापाको दाबी

[sharethis-inline-buttons]

काठमाडौं-
नेपाली फिल्मबाट डुबेका र उकासिएका निर्माता हुन्, सुनिल कुमार थापा । तर, जुनसुकै परिस्थितमा पनि उनले फिल्म क्षेत्र छाडेनन् । ‘धर्म संकट’, ‘फेसबुक’, ‘तक्दिर’, ‘ए मेरो हजुर’ जस्ता फिल्म बनाइसकेका उनको सिंगो परिवार नै फिल्ममा आश्रित छ । उनकी श्रीमती झरना थापा अभिनेत्री हुँदै अहिले निर्देशक बनेकी छन् । उनले छोरी सुहानालाई समेत फिल्ममा ल्याएका छन् ।

नेपालमा ‘ए मेरो हजुर ४’ र ‘केजीएफ २’को कलेक्सन बराबर हुने दाबी समेत उनको छ । उनी भन्छन्, ‘फिल्मलाई कति शोज दिने त्यो हलवालाको हातमा छ । शोज बाँडफाँडको विषयमा अहिले छलफल भइरहेको छ । हल व्यवसायीहरु नेपाली भएकाले हाम्रो फिल्मले उल्लेख्य शो पाउनेमा विश्वस्त छौं । हलवालालाई ‘ए मेरो हजुर ४’ र ‘केजीएफ २’ चलाउँदा कलेक्सन बराबर नै हुन्छ ।’

निर्माता थापाले निर्माण गरेको नयाँ फिल्म ‘ए मेरो हजुर ४’ आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ । यसपटक उनले आफ्नै लगानीमाथि जोखिम उठाएका छन् । यो मितिमा साउथ फिल्म ‘केजीएफ २’ पनि रिलिज हुँदैछ । जसले गर्दा बैशाख १ मा कुन फिल्म कसको मिचाईमा पर्ने हो भन्ने चासो धेरैमा देखिएको छ । तर, निर्माता थापा जित नेपाली फिल्मकै हुनेमा पूर्ण विश्वस्त छन् ।

पहिलाभन्दा अहिले फिल्म रिलिज गर्न गाह्रो रहेको पनि उनले अनुभव सुनाए । ‘पहिला त फिल्म रिलिज गर्नका लागि खोसाखोस हुन्थ्यो । वितरकहरुले एमजी वा फिक्समा फिल्म किन्थे । त्यसबेला फिल्मले कति कमाइरहेको छ भन्ने समेत थाहा हुँदैन थियो । त्यसैले प्रदर्शनभन्दा अगाडि नै वितरकलाई फिल्म बेच्न सजिलो हुन्थ्यो । निर्मातालाई एक हिसाबले राहत पनि हुन्थ्यो,’ उनले भने ।

निर्माता थापा अगाडि भन्छन्, ‘म फिल्म क्षेत्रमा आएको २७ वर्ष भयो । यो अवधिमा मैले दर्शकलाई राम्रै फिल्म दिएको छु जस्तो लाग्छ । तर, मैले आजसम्म बनाएका फिल्ममध्ये ‘ए मेरो हजुर ४’ मेकिङको हिसाबले उत्कृष्ट छ । यसको कथावस्तु पनि अत्यन्त राम्रो छ । र, म घमण्डका साथ भन्छु कि अनमोल केसीले यसअघि सातवटा फिल्ममा गरेको अभिनयभन्दा यसमा अब्बल छ ।’