फाइनलमा नेपालको मध्यम सुरुवात

[sharethis-inline-buttons]

काठमाडौं-

(हाम्रो खेलकुद) – घरेलु टोली नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध मध्यम सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती ६ ओभरमा २ विकेट गुमाउँदै ४४ रन बनाएको छ । पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले ४.४ ओभरमा ३७ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए ।

कुशल काबुआ मोरेआको बलमा स्क्वायर लेगमा लेगा सियाकाबाट २५ रनमा क्याच भए । कुशलले सुरुवाती ६ बलमै तीन चौकासहित १३ रन बनाएका थिए ।तर त्यसपछि रनको गति बढाउन सकेनन् । २२ बल प्रहार गरेका कुशलले ५ चौका प्रहार गरे । रोहित पौडेल छैटौं ओभरको पाँचौं बलमा फाइन लेगमा चौका प्रहार गर्नेक्रममा स्क्वायर लेगमा राइली हेकुरेबाट २ रनमा क्याच आउट भए ।

ओपनर आसिफ शेख १३ रनमा क्रिजमा छन् । उनलाई दीपेन्द्रसिंह ऐरीले साथ दिनेछन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । मलेसियासँग विश्राम दिएका तीव्र गतिका बलर सोमपाल कामी टोलीमा फर्किएका छन् । घाइते भएका कमलसिंह ऐरीको स्थानमा सोमपाललाई मौका दिएको हो ।

नेपालको प्लेइङ ११ :
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, दीलिप नाथ (विकेटकिपर) , करण केसी, सोमपाल कामी, अभिनाश बोहरा र सन्दीप लामिछाने (कप्तान)