आज्ञा सम्वाददाता
जनकपुरधाम
शनिबारउद्धाटन भएर संचालनमा आएको कुर्था जनकपुर जयनगर रेलले आईतवार पहिलो दिन १५ सय यात्रुबाट भाडा स्वरुप ८० हजार रुपैयाँ आम्दानी गरेको छ ।
पहिलो दिनकै सञ्चालनमा घाटा गएको रेल सेवा घाटामा नजान दैनिक कम्तीमा दुई लाख रुपैयाँ आम्दानी गर्नु पर्ने नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले बताए।
अहिले दैनिक दुईपटक ओहरदोहर गर्ने गरी रेल संचालनमा आएको हो ।
पहिलो चरणमा जनकपुरधामको कुर्थाबाट जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचालनमा आएको छ ।
जनकपुरधामदेखि जयनगरसम्मको रेलको भाडा समान्य टिकट रु ७० र एसीकोच तर्फ ३ सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।
२०७७ असोजमा दुवै रेल सेट भारताबाट जनकपुर ल्याइएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएको थियो । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको दिल्ली स्थित हैदराबादबाट झण्डा हल्लाएर रेलको उदघाटन गरेका थिए ।
२०७६ वैशाख २७ मा भारत सरकारसँग रेल खरिदसम्बन्धी सम्झौता भएको थियो। भारतीय रेलवे कम्पनी कोंकणले दुवै रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा तयार गरेर दिएको हो ।