काठमाडौं-
(हाम्रो खेलकुद – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत मलेसियासँग शनिबार भएको खेलमा घाइते भएका तीव्र गतिका बलर कमलसिंह ऐरीको सफल शल्यक्रिया भएको छ । आइतबार बिहान कलंकीमा रहेको नेपाल नेशनल अस्पतालमा चिकित्सक निरज केसी र निराजन सुवेदीको टोलीले शल्यक्रिया गरेका हुन् । शनिबार टियु मैदानमा नेपालले प्रस्तुत गरेको २ सय २४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा कमल १८ औं ओभरमा घाइते भएका थिए ।
आदिल अन्सारीको बलमा मलेसिया ब्याटर एनुल हफिजले चोभार एण्डतर्फको लङअनमा प्रहार गरेको बल रोक्नेक्रममा क्रममा उनी घाइते भएका थिए ।बल रोक्न डाइभ हान्ने क्रममा घाँटी मुनि रहने बायाँ भागको ब्यूटी बोनमा चोट लागेको थियो । नेपाली क्रिकेट टोलीका फिजियो विक्रम न्यौपानेका अनुसार उक्त हड्डी बिचबाट भाँचिएको हुँदा शल्यक्रिया गर्नु परेको हो ।
शल्यक्रियापछि हड्डी ठिक हुन कम्तिमा ६ हप्ता जति समय लाग्ने बताइएको छ । युवा स्टार कमलले पछिल्लो समय नेपाली टोलीबाट राम्रो प्रदर्शन गर्दै आएका छन् ।उनलाई नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा भने शनिबार नै पहिलो अवसर दिएको थियो । यसअघिका उनी तीन खेलमा सामान्य चोटका कारण उनी बेन्चमा थिए ।
सोमपाल कामीलाई विश्राम दिँदै नेपालले उनलाई आज मौका दिएको थियो । तर दुर्भाग्य चोट बोक्न पुगे । कमलले चोट बोक्नु अघि सुरुवातमै दुई प्रमुख विकेट लिएका थिए ।पहिलो ओभरको अन्तिम बलमै मलेसिया ओपनर जुबैदी जुल्किफ्लीलाई शून्यमा कुशल भुर्तेलबाट क्याच गराएका थिए । आक्रामक सुरुवात गरेका विरनदीप सिंहलाई छैटौं ओभरको चौथो बलमा स्क्वायर लेगमा आसिफ शेखबाट ४७ रनमा उत्कृष्ट क्याच आउट गराएका थिए ।