मिथिला नगरपालिकामा स्नातक उत्तीर्ण छोरीबुहारी सम्मानित

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
ढल्केबर

धनुषाको मिथिला नगरपालिकाको लोकप्रिय कार्यक्रम ‘मिथिलाको चाहना घर–घरमा साहाना अन्तर्गत मिथिला स्नातक उत्तीर्ण गरेकी नगरभित्रका छोरी बुहारीलाई सम्मान गरेको छ ।
नगरपालिकाले स्नातक उत्तीर्ण अविवाहित छोरी र मिथिला नगरपालिकामा विवाह भई आएका स्नातक उत्तीर्ण बुहारीलाई सम्मान गरेको हो ।

उक्त कार्यक्रम अन्तर्गत निवेदन दिएकामध्ये स्नातक उत्तीर्ण ११ जना छोरी र ५० जना बुहारी गरी जम्मा ६१ जनालाई सम्मान पत्र र ६ हजार नगद रकमसहित सम्मान गरिएको मिथिला नगरपालिकाकी उपमेयर तारा कुमारी बस्नेत लामाले जानकारी दिइन् । कार्यक्रममा सम्मानित हुने छोरी र बुहारीका अभिभावकहरुलाई समेत दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

पढेकी छोरीसँगै बाबुआमालाई पनि नगरपालिकाले सम्मान गर्न थालेपछि छोरी पढाउनु पर्छ भन्ने कुराले बल पाउँदै गएको उपमेयर लामाको बुझाइ छ ।

नगरपालिकाले विगत चार वर्षदेखि आफ्ना छोरीचेलीमा नेपालको वाम प्रजातान्त्रिक आन्दोलनकी शीर्ष नेतृ सहाना प्रधानको बिम्व खोज्दै ‘मिथिलाको चाहना, घरघरमा सहाना’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।