आज्ञा सम्वाददाता
सिरहा
टेन्डर नै नभएको दुईवटा सडकको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले शिलान्यास गरेकी छन् । मन्त्री यादवले लगत इस्टिमेट मात्र तयार भएको चोहर्वा–सिरहा–माडर चार लेन र मिर्चैया–कल्याणपुर–सिरहा दुई लेन सडकको शुक्रबार शिलान्यास गरेकी हुन् ।
मन्त्री यादवले दुवै सडकका लागि पहिलो चरणमा मन्त्रालयले ४०र४० करोड रुपैयाँ विनियोजन गरेको बताइन् । २२ मिटर चौडाइ रहने चोहर्वा–सिरहा–माडर चार लेन सडकखण्डमा विनियोजित रकमबाट पहिलो चरणमा साढे २ किलोमिटरको काम हुनेछ । यो सडकमा गाउँ क्षेत्रमा १४ मिटर र सहरी क्षेत्रमा १८ मिटर कालोपत्रे गर्ने योजना छ ।
यस्तै, मिर्चैया–कल्याणपुर–सिरहा सडकखण्डमा पहिलो चरणमा साढे ८ किमिको काम हुनेछ । दुई लेनको यो सडकको चौडाइ भने ११ मिटर हुनेछ । सडक निर्माण अवधि २ वर्ष तोकिएको छ । मन्त्री यादवले दुवै सडक निर्माण भए यहाँको विकासले गति लिने विश्वास व्यक्त गरिन् । उनले समयमै सडक बनाइसक्ने प्रतिबद्धतासमेत जनाइन् ।
तर, सडक डिभिजन कार्यालय लहानले मन्त्री यादवले शिलान्यास गरेको सडकको लगत इस्टिमेट मात्र तयार भएको र टेन्डर प्रक्रिया बाँकी नै रहेको जनाएको छ । प्रायःजसो आयोजनाको टेन्डर प्रक्रिया सुरु भइसकेपछि मात्र शिलान्यास गरिन्छ । तर, टेन्डर नै नभईकन शिलान्यास गरिनु भनेको चुनावको मुखमा जनताको आँखामा छारो हाल्न र वाहवाही कमाउन गरिएको प्रपञ्च हो भन्छन्, नेपाल पत्रकार महासंघ सिरहाका पूर्वअध्यक्ष देवकुमार यादव ।
लहान नगरपालिकाका प्रमुख मुनी साहले डीपीआर मात्रै तयार भएको नगरक्षेत्रभित्र ४२ किलोमिटर चक्रपथ निर्माणको सोमबार शिलान्यास गरे ।
चक्रपथको डीपीआर तयार भएको तर टेन्डर प्रक्रियाबारे आफूलाई जानकारी नभएको लहानका ओभरसियर राजीव बैठाले जानकारी दिए । ‘डीपीआर मैले नै तयार गरेको हुँ,’ उनले भने, ‘करिब ७० लाख रुपैयाँको तयार गरिएको छ, टेन्डर प्रक्रियाबारे मलाई जानकारी भएन ।उनले भने