आज्ञा सम्वाददाता
जनकपुरधाम
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिएका छन ।
शुक्रवार जनकपुरधाममा आयोजना गरेको जलवायु परिवर्तनको असर र महिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राउतले शिक्षा, आर्थिक र राजनीतिकमा महिलाको प्रतिनिधित्व नभएसम्म समस्या रहिरहने बताए।
उनले पितृसत्तात्मक समाजले गर्दा महिला विभेदमा परेको स्वीकार्दै छोरालाई घुम्ने, खेल्ने छुट दिएको तर छोरीलाई दायरामा राखिएको बताए । उनले यसले समाजमा अझै महिला विभेद कायमै रहेको प्रष्ट भएको बताए ।
पुरुष प्रधान चश्माबाट हेर्दा समाजमा समस्या निम्तिएको उनले भने ।
बालुवा, गिट्टी बेचेर मुलुक समृद्ध हुन नसक्ने जिकिर गर्दै यसको निकासी तत्काल रोक्नुपर्ने राउतको भनाई थियो । बालुवा, गिट्टी निकासीमा सरकारले रोक लगाएपनि मधेश प्रदेशमा बेरोकटोक निकासी भएको उनले बताए ।
सरकारले नीति नियम बनाउने हो’, उनले भने, ‘कार्यान्वयन गर्ने निकाय नै इमान्दार भएन् । कार्यान्वयन गर्ने निकाय हुँदाहुँदै दैनिक चुरे दोहन भइरहेको छ । चुरे दोहनमा प्रयोग गरिएको स्काभेटर, टिपर नियन्त्रणमा लिएको छैन । दोहन गर्नेमाथि कारबाही भएको छैन् ।’
यस्तो अवस्थामा जलवायु परिवर्तनको प्रभाव देखिनु स्वभाविक रहेको मुख्यमन्त्री राउतले बताए ।