एजेन्सी, मुम्बई
गत हप्ता प्रदर्शनमा आएको एसएस राजामौली निर्देशित साउथ इन्डियन फिल्म ‘आरआरआर’को कमाईको रफ्तार अझै रोकिने छाँटकाँट देखिएको छैन । फिल्मले भारतमा मात्र नभइ विश्वभर आक्रामक कमाई गरिरहेको छ । हिन्दी भर्सनमा मात्र प्रदर्शनको ७ दिनमा १ सय ३० करोडमाथिको कमाई गरिसकेको फिल्मले विश्वभरबाट ७ सय करोडको आँकडा पार गर्न सफल भएको छ ।
५ सय ५० करोडको लागतमा निर्माण भएको फिल्मले प्रदर्शनको सात दिनमा विश्वभरबाट ७ सय ९ करोड ३६ लाखको व्यापार गरेको ट्रेड एनालिस्ट मनोबाला विजयबालनले ट्रविटरमार्फत् जानकारी दिएका छन् । फिल्मले पहिलो दिन विश्वभर २ सय ५७ करोड १५ करोडको सानदार ओपनिङ गरेको थियो । सोमवारबाट भने फिल्मको वर्ल्ड वाइड कलेक्सनमा गिरावट आएको छ ।
फिल्मको लाइफटाइम बिजनेस १५ सय करोड करोड पुग्ने अनुमान गरिएको छ । यो फिल्मले एसएस राजामौलीको अघिल्लो फिल्म ‘बाहुबली २’ को लाइफटाइम कलेक्सनलाई समेत उछिन्ने देखिन्छ । भारतमा अहिलेसम्म सबैभन्दा बढी कमाई गर्ने टप ५ फिल्मको लिस्टमा दोस्रो स्थान बनाएको ‘आरआरआर’ले नेपालमा मात्रै पहिलो हप्ता ४ करोडमाथिको कलेक्सन गरेको जानकारी प्राप्त छ ।