आज्ञा सम्वाददाता
जनकपुरधाम
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेसम्म कुनै दलसँग औपचारीक कुराकानी नभएपनि आवश्यकता अनुसार अन्य दलले पनि चासो राखेको अवस्थामा आफ्नो पार्टीको गठबन्धन हुन सक्ने बताएका छन् ।
शुक्रबार जनकपुरधाम स्थित विमान स्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लिङदेनले राप्रपाले जितेको स्थानीय तहलाई नमूनाको रुपमा विकासगरी जनतालाई प्रत्यक्षरुपमा सेवा सुविधा दिइएको र शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक विकास, र सुशासन आफूहरुको एजेण्डा रहेको बताए ।
उनले भने,‘हामी पहिलो पार्टी बन्छौँ यो दावा गर्दिन् तर जतिमा जितछौँ त्यसलाई नमूना बनाउँछौँ । हामी ५० प्रतिशतसम्म कर घटाउँछौँ । र तिनै स्थानीय तहहरुबाट देखाउँछौँ राप्रपाले पुरै देशको नेतृत्व गरेको विकास कस्तो हुन्छ ।’
उनले स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा एक्लै उम्मेदवार उठाएर जाने तयारी रहेपनि आवश्यकता अनुसार स्थानीय तहमा चुनावी तालमेल गर्न सक्ने बताए ।
लिङदेनले अघिल्लो निर्वाचनमा सबै स्थानीय तहमा उम्मेदवार नउठाएकाले समेत केही स्थानीय तहमा मात्र जित हासिल गरेकाले यस पटक सबै स्थानीय तहमा उम्मेदवार उठाउने तयारी रहेको बताए ।