आज्ञा सम्वाददाता
काठमाडौ
सरकारले लामो दूरीको सार्वजनिक सवारी साधनको भाडा करिब १० देखि १४ प्रतिशत बढाउने निर्णय गरेको छ। बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एक प्रदेशबाट अर्काे प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीमा करिब १० देखि १४ प्रतिशत भाडा समायोन गर्ने निर्णय गरेको हो।
“कुल भाडाको ३४ प्रतिशत हिस्सा इन्धनलाई लिएर अन्य १२ सुचकको अध्ययनको आधारमा बिहीबार मन्त्रीस्तरीय निर्णयबाट भाडा समायोजन भएको छ ।”
आइतबार विभागले रुट अनुसार समायोजन भएको भाडाको सूची सार्वजनिक गर्ने यातायात विभागका महानिर्देशक नमराज घिमिरेले बताए । बढेको भाडा कार्यान्वयनमा आउने विभागले जनाएको छ । छोटो दूरीको भाडा भने प्रदेश सरकार मातहत भएकाले तत्काल स्थानीय सरकारले केही निर्णय गरेका छैन ।
वैज्ञानिक भाडादर लागु
साथै सरकारले वैज्ञानिक भाडादर (स्वचालित रुपमा भाडा) समायोजन हुने निर्णय पनि गरेको छ । ५ रुपैयाँसम्म इन्धनको मूल्यमा वृद्धि हुँदा सवारी भाडामा पनि वृद्धि हुने र इन्धनको मूल्यमा कमि आउँदा सवारिको भाडादरमा कम हुने गरि स्वचालीत प्रणाली अनुसार मूल्य समायोजन गर्ने निर्णय गरेको छ । यसो गर्दा इन्धनको मूल्यमा ५ रुपैयाँ तल माथि हुन साथ सार्वजनिक भाडादरमा परिवर्तन हुने छ ।
यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस भाडा समायोजन गर्ने र स्वचालित मूल्य समायोजन लागु गर्ने सिफारिस गरेको थियो । विगत ९ वर्षदेखि हुन नसकेको वैज्ञानिक भाडादर प्रणाली समायोज हुन नसकेको भन्दै विभागले स्वचालित रुपमा भाडा समायोजन हुने व्यवस्था गर्न मन्त्रालयमा प्रस्ताव गरेको थियो । विभागले वैज्ञानिक भाडादर लागु गर्न समायोजन अध्ययन प्राविधिक समितिले तयार पारेको प्रतिवेदनका आधारमा मन्त्रालयले भाडा समायोजन र स्वचालित मूल्य लागु गरेको हो ।
पछिल्लो समय पार्टपुर्जा तथा इन्धनको मूल्यमा भएको वृद्धिले गर्दा यातायात व्यवसायीले मुूल्यवृद्धि समायोज सम्बन्धी मापदण्ड तयार गर्न माग गर्दै आएका थिए ।