निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगद्वारा ‘कल सेटर’ सञ्चालन

[sharethis-inline-buttons]

काठमाडौं –

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।आयोगले मंगलबारबाट ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको हो । कल सेन्टरमार्फत निर्वाचनका विषयमा उठेका जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई सम्बोधन गरिने आयोगले जनाएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सो कल सेन्टरको शुभारम्भ गरेका हुन् । कल सेन्टरमार्फत नागरिक, मतदाता तथा सरोकारवालाले ११०२ नम्बरमा फोन गरेर आफ्ना जिज्ञासा राख्न सक्नेछन् ।आयोगले यसअघिका निर्वाचनमा भने ११ अंक रहेको टोलफ्री नम्बर सञ्चालनमा ल्याएको थियो । यसपटक भने सेवाग्राहीको हितलाई ध्यानमा राखेर आयोगले चार अंकको नम्बर राखेको हो । कल सेन्टरमा नौ जनशक्ति खटाइएको छ ।

कल सेन्टरमा आएको पहिलो गुनासोको सुनुवाइ प्रमुख आयुक्त थपलिया आफैंले गरेका हुन् । सो क्रममा उनले कल सेन्टरमा सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासालाई शिष्ट भाषामा सम्बोधन गर्न कर्मचारीलाई निर्देशनसमेत दिए ।आयोगका प्रवक्ता शालिग्राम शर्माले कल सेन्टरमा खटिएका कर्मचारीलाई सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासोलाई बुझिने भाषामा सरल रूपमा सम्बोधन गर्न सुझाव दिए ।