काठमाडौँ —
त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा मलेसियासँग टस हारेर नेपालले पहिले बलिङ सुरु गरेको छ । नेपालका प्रशिक्षक पुबुदु दासानायकेले आफूले नयाँ खेलाडी प्रयोग गर्न चाहेको बताउँदै आएबमोजिम नै बुधबार टोलीमा फिर्ता बोलाइएका विकेटकिपर–ब्याटर दिलीप नाथलाई मौका दिइएको छ । दुवै टोलीको प्रतियोगितामा यो दोस्रो खेल हो ।
पहिलो खेलमा दुवैले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध विजय हात पारेको थियो । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले पराजित गरेको थियो । मलेसियाले पीएनजीमाथि ८ रनको ऐतिहासिक विजय हात पारेको थियो । नेपालले पीएनजीविरुद्ध सोमबार खेलेको टोलीबाट लोकेश बमको स्थानमा दीलिप नाथलाई खेलाएको छ । दीलिपको ट्वान्टी २० अन्तर्राष्ट्रियमा यो ‘डेब्यु’ खेल हो । उनले विकेटकिपङका साथै ब्याटरको रुपमा टोलीमा रहने छन् । आसिफ शेख ब्याटरको रुपमा मात्रै रहने छन् ।
मलेसिया माथि विजय हात पारेमा नेपालको फाइनल प्रवेश सम्भावना बलियो हुनेछ । नेपालले मलेसियाविरुद्धको पछिल्ला ४ खेलमा ३ मा विजय हात पारेको छ । गत वर्ष नेपालमै भएको त्रिकोणात्मक ट्वान्टी २० शृंखलामा नेपालले मलेसियासँग राउन्ड रोबिनको दुवै खेल जितेको थियो ।तर २०२२ को मार्चमा थाइल्यान्डमा भएको एसीसी ट्वान्टी २० छनोटमा मलेसियाले नेपाललाई २२ रनले पराजित गरेको थियो । सरभिन मुनिआउन्डीले ४ विकेट लिदैं प्लेयर अफ द म्याच बनेका थिए । उनले नै मंगलबार पीएनजीविरुद्ध ४ विकेट लिँदै प्लेयर अफ द म्याच प्रदर्शन गरेका थिए ।