त्रिवि सेवा आयोगका प्रमुखसहित ६ कर्मचारीमाथि भ्रष्टाचारको मुद्दा दर्ता

[sharethis-inline-buttons]

काठमाडौं –

त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका प्रा.डा. टेकनाथ ढकाल, सह–प्राध्यापक र तत्कालीन प्रशासन प्रमुख ६ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

आयोगका अनुसार उत्तरपुस्तिकामा केरमेट गरी अंक थप गर्ने कार्यमा लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सह–प्राध्यापक केशव घिमिरे, लेखा सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सह–प्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका सम्परीक्षण गर्ने प्रा.डा. टेकनाथ ढकाल, उत्तरपुस्तिका रुजु गर्ने सेवा आयोगको कार्यालय, त्रि.वि.का तत्कालीन प्रमुख परशुराम कोइराला र तत्कालीन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे संलग्न भएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको हो ।

२०७३ सालमा लिइएको प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदको लिखित परीक्षामा अनियमितता गरेको बताइएको छ ।आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार २०७३ साल फागुन १८ मा प्रकाशित विज्ञापन नम्बर १८÷०७३÷७४ सँग सम्बन्धित उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदको लिखित परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल भएको आरोपमा मुद्दा दर्ता भएको हो ।

‘परीक्षामा परीक्षकले गलत मनसायका साथ केरमेट गरी जम्मा प्राप्तांकमा हेरफेर गरी मेरिट सूची फेरबदल गर्ने कार्य गरेको, उक्त गलत कार्यलाई सम्परीक्षकले सदर गरेको र रुजु गर्ने व्यक्तिले समेत रुजु गरी सच्याउने कार्य नगरेबाट लिखित परीक्षाको उत्तरपुस्तिकामा केरमेट गरी अंक थप गर्ने कार्य गरेको पुष्टि हुन आएको छ,’ आरोप पत्रमा भनिएको छ ।

उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा प्राप्तांक केरमेट गरेको, अंक थपघट गरी नतिजा फेरबदल गरेको र उत्तर नलेखेकोमा समेत अंक प्रदान गरी उत्तीर्ण गराएको अभियोग पत्रमा उल्लेख छ । उनीहरूविरुद्ध तीन महिनादेखि एक वर्षसम्म कैद र ५ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिमानाको माग दाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता भण्डारीले जानकारी दिएका छन् ।