आज्ञा सम्वाददाता
जनकपुरधाम
नेपालको एकमात्र रेलसेवा अब यात्रु सहित नियमित सञ्चालन हुने भएको छ ।
भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म सञ्चालन हुने रेलको भारत र नेपालका प्रधानमन्त्रीले संयुक्त रुपमा शनिबार उद्घाटन गर्ने भएका छन् । नेपाल सरकारले खरिद गरेको दुई सेट रेल थनकाएर राखेको डेढ वर्षपछि फागुन १ गते देखि यात्रु बिनाको ड्राई रन गरिरहेको छ।
भारत भ्रमणमा गइरहेका प्रधानमन्त्री देउवा भ्रमणकै कार्यक्रममा उद्घाटनको विषय पनि रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जनाएको छ ।
दुबै देशका प्रधानमन्त्रीले रेलको भर्चुअल् उद्घाटन गर्ने मन्त्रालयको स्रोतले जनाएको छ ।
उद्घाटन भएपछि रेल जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दूरीमा यात्रु बोकेर चल्ने छ ।
नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन् ।
रेल सञ्चालनकै लागि गत चैत ८ गते राष्ट्रपति कार्यालयबाट रेलवे अध्यादेश जारी भइसकेको छ ।