थुनामा पठाउने आदेशविरुद्ध पलले दिए उच्च अदालतमा निवेदन

[sharethis-inline-buttons]

काठमाण्डौँ-

१७ वर्षिय नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पुर्पक्ष थुनामा रहेका अभिनेता पल शाहले जिल्ला अदालत, तनहुँको आदेशविरुद्ध उच्च अदालत, पोखरामा पुनरावेदन निवेदन दिएका छन् । शाहका कानुनी सहयोगीले मंगलवार दिउँसो जिल्ला अदालतको फैसलाविरुद्ध तारेखमा थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दर्ता गराएका हुन् ।

दुई दिनसम्म जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत, तनहुँले शाहलाई थुनामा राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको थियो । नाबालिगलाई विवाह गर्छु भनी प्रलोभन देखाएर जबर्जस्ती करणी गरेको देखिन आएको भन्दै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । अहिले पल दमौली कारागारमा छन् ।

शाहका कानुन व्यवसायी भानुभक्त सुवेदीले तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेशविरुद्ध तारिखमा रिहाइ गरेर मुद्दा लड्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन गरिएको जानकारी दिए । जबर्जस्ती करणीको मुद्धामा थुनामा राखेर, साधारण तारिखमा रिहा गरेर वा धरौटीमा छाडेर अनुसन्धान गर्न अदालतले आदेश दिन सक्ने व्यवस्था छ ।

नाबालिगले गत फागुन ११ गते शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा उजुरी दिएकी थिइन् । यसको चार दिनपछि अर्थात् शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेको दिन ती नाबालिगले पूर्वी नवलपरासीको प्रहरी कार्यलयमा पनि जाहेरी दिएकी थिइन् । शाहसँग तनहुँ प्रहरीले २१ दिन र नवलपरासी प्रहरीले ७ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।